झापामा कुटपिट गरी हत्या गरेको आरोपमा तीन पक्राउ
झापामा कुटपिट गरी हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
मेचीनगर नगरपालिका-४ आमडाँगी मोढका ५० वर्षीय पूर्णबहादुर प्रधानको हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सोही ठाउँका २५ वर्षीय दिवसलुङ्गेली मगर, ५५ वर्षीय प्रेम भन्ने बेमा दोर्जी तामाङ र २८ वर्षीय विशाल तामाङ छन् ।
मृतक प्रधानले आइतबार राति सवा ८ बजे बेमादोर्जी तामाङलाई हिर्काएका थिए । त्यसपछि उनीहरूले प्रधानमाथि कुटपिट गरेका थिए ।
कुटपिटबाट गम्भीर घाइते भएका प्रधानको उपचार गर्न आम्दा अस्पताल धुलाबारी पठाइएको थियो। उपचारका क्रममा उनको राति साढे ९ बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए ।
'मृतकले पहिले कुटपिट गरेपछि उनीहरूले हिर्काएको भनेका छन् । अहिलेसम्म हामीसँग यति नै जानकारी छ,'उनले भने,'आज म्याद थप गरी थप सोधपुछ पछि अरू कारणहरू खुल्छ ।' प्रधानको मृत्यु भएको खबर पाएपछि प्रहरीले तीनै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टा र प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
उनीहरूमाथि अनुसन्धान तथा कानुनी कारबाहीको लागि काँकडभिट्टामा राखिएको छ ।