भारतमा घर भत्किँदा कालिकोटका दुई नेपालीको मृत्यु
रोजगारीका लागि भारतको उत्तराखण्डस्थित अल्मोडा पुगेका कालिकोटका दुई जनाको घर भत्किँदा पुरिएर मृत्यु भएको छ।
मृत्यु हुनेमा नरहरिनाथ गाउँपालिका–९ का ३५ वर्षीय चक्र दर्जी र ३४ वर्षीय डिल्ली दर्जी रहेका छन्। वडा अध्यक्ष प्रदीप बोहोराका अनुसार गएराति परेको अविरल वर्षाका कारण उनीहरू बस्दै आएको कच्ची घर भत्किँदा दुवै जना पुरिएका हुन्।
‘उहाँहरू बस्ने घर कच्ची रहेछ। राति सुतिरहेका बेला घर भत्किएछ,’ वडा अध्यक्ष बोहोराले भने।
चक्रका श्रीमतीसहित तीन छोरा तथा डिल्लीका श्रीमतीसहित एक छोरा र दुई छोरी छन्। परिवारको रोजीरोटी जुटाउन र छोराछोरीको भविष्यका लागि उनीहरू रोजगारीको सिलसिलामा अल्मोडा गएको वडा अध्यक्ष बोहोराले बताए।
मृतक दुवै परिवारको आर्थिक अवस्था कमजोर रहेको उनले जानकारी दिए। ‘उहाँहरूको आर्थिक अवस्था निकै कमजोर छ। बालबालिका सबै १६ वर्षभन्दा कम उमेरका छन्। अहिले परिवार बिचल्लीमा परेको छ,’ बोहोराले भने।
परिवारले मृतक दुवैको शव नेपाल ल्याएर अन्त्येष्टि गर्न चाहेको छ। शव नेपाल ल्याउने व्यवस्थाका लागि वडा कार्यालय र गाउँपालिकाले सम्बन्धित निकायसँग समन्वय तथा पहल गरिरहेको वडा अध्यक्ष बोहोराले जानकारी दिए।