भोटेकोशी बाढीपीडितका लागि इप्पानका ऊर्जा उद्यमीले दिए १३ करोड
काठमाडौं — स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) मा आबद्ध ऊर्जा उद्यमीहरूले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनर्निर्माणका लागि १३ करोड रुपैयाँ बराबरको आर्थिक सहयोग गरेका छन्।
इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले सिंहदरबारस्थित मन्त्रालयमा आज आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई १३ करोड रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन्। इप्पानमा आबद्ध ऊर्जा उद्यमीहरूले व्यक्तिगत तथा समूहगत रूपमा उक्त रकम सहयोग गरेका हुन्।
चेक हस्तान्तरण कार्यक्रममा मन्त्री श्रेष्ठले जलवायु परिवर्तनका कारण जलविद्युत् आयोजनाहरूले भौगोलिक तथा प्राकृतिक विपद्का समस्या भोग्नुपरिरहेको भन्दै आगामी दिनमा जलवायु परिवर्तनमैत्री संरचना निर्माणमा ध्यान दिनुपर्ने बताए।
उनले विपद्को समयमा राज्यलाई आर्थिक सहयोग गरी संकटको घडीमा साथ दिने भावना ऊर्जा उद्यमीहरूले देखाएको बताए।
इप्पान अध्यक्ष डाँगीले ऊर्जा उद्यमीहरू आफैं पनि विपद्बाट प्रभावित हुँदाहुँदै राज्यको विपद् कोषमा आर्थिक सहयोग गरेको बताए। भोटेकोशी नदीमा आएको बाढीपहिरोबाट १३ वटा जलविद्युत् आयोजना प्रभावित भएको उल्लेख गर्दै उनले पीडितको घाउमा मलम लगाउने उद्देश्यले सहयोग गरिएको बताए।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले ऊर्जा उद्यमीहरू आफैं संकटमा परेको अवस्थामा समेत आर्थिक सहयोग गर्नु सराहनीय काम भएको बताइन्।
इप्पानका निवर्तमान अध्यक्ष तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीका सल्लाहकार गणेश कार्कीले बाढीबाट प्रभावित जलविद्युत् आयोजनाको उद्धारका लागि इप्पानले प्राविधिक सहयोगसमेत गर्दै आएको जानकारी दिए।
राहत कोषमा सहयोग गर्नेहरूमध्ये मोहनविक्रम कार्की समूहले १ करोड ६५ लाख रुपैयाँ, हिमप्रसाद पाठक तथा समूहले १ करोड ५१ लाख रुपैयाँ र पुष्पज्योति ढुङ्गाना तथा समूहले १ करोड ७ लाख ७७ हजार ७७५ रुपैयाँ सहयोग गरेका छन्।
त्यस्तै, बटु लामिछाने तथा गणेश कार्की समूहले ८७ लाख ७७ हजार ७७७ रुपैयाँ, इशा श्रेष्ठ समूहले ६५ लाख रुपैयाँ, बुटवल पावर कम्पनी समूह तथा कम्पनीहरूले ५१ लाख ४१ हजार ९८६ रुपैयाँ, उत्तमब्लोन लामा तथा समूहले ५१ लाख रुपैयाँ, माउन्टेन इनर्जी नेपालले ५१ लाख रुपैयाँ, सुमन कर्माचार्य तथा समूहले ५० लाख रुपैयाँ र अजयबल्लभ पन्त तथा समूहले ५० लाख रुपैयाँ सहयोग गरेका छन्।
टिएन आचार्य तथा समूहले २६ लाख, सन्तोषराज नेपाल तथा समूहले २५ लाख २५ हजार, मोहनकुमार डाँगी तथा समूहले २५ लाख, दिनेश गुरुङ तथा समूहले २५ लाख, अनुप आचार्य तथा समूहले २५ लाख तथा साङ्ग्रिला ऊर्जा लिमिटेड र घलेम्दी हाइड्रो लिमिटेडले २५–२५ लाख रुपैयाँ सहयोग गरेका छन्।
रघुनाथ पुरी तथा समूह (गोरक्ष हाइड्रो) ले २५ लाख, उमेश श्रेष्ठ तथा समूह (कालङ्गा ग्रुप) ले २० लाख ७० हजार, कदम केसी तथा समूहले २० लाख १० हजार, अभिज्ञा मल्ल तथा समूहले २० लाख १० हजार, भुषण गुरागाईं तथा समूह (न्यादी ग्रुप) ले २० लाख र बिजी ग्रुप तथा हाइड्रो सोलुसनले १५ लाख रुपैयाँ सहयोग गरेका छन्।
त्यसैगरी बलराम खतिवडा तथा समूहले १५ लाख, गोपाल न्यूरे तथा समूह (संयुक्त ऊर्जा र चितवन इनर्जी) ले ११ लाख ११ हजार ११०, सुभास साङ्घाई र श्रीधर न्यौपाने (ग्रिन भेञ्चर्स) ले ११ लाख, विक्रम विष्ट तथा समूह (इसुवा इनर्जी प्रालि) ले १० लाख ५५५, बाबुराम थापा (अभियान समूह) ले ७ लाख ५१ हजार र नारायण कँडेल तथा समूहले ५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेका छन्।
केशवबहादुर रायमाझी तथा समूह, आत्माराम घिमिरे तथा समूह (लिबर्टी इनर्जी) र अर्जुन गौतम (अपर हेवा) ले ५ लाख ५५ हजार ५५५ रुपैयाँका दरले सहयोग गरेका छन्। सोमनाथ कँडेल तथा समूहले ५ लाख ९ हजार ९९९ रुपैयाँ सहयोग गरेका छन्।
कृष्णप्रसाद घिमिरे तथा समूह (विकास हाइड्रो) ले ५ लाख ५ हजार ५५५ रुपैयाँ, प्रकाश दुलाल तथा समूहले ५ लाख ५ हजार रुपैयाँ तथा सुमन जोशी तथा समूह, जगदिश शिवाकोटी तथा समूह, मकरीगाड हाइड्रोपावर लिमिटेड, दीपक पौडेल (सानीभेरी हाइड्रो), रिडी पावर तथा समूह, नर्थ समिट हाइड्रो लिमिटेड र सुपरहेवा पावर कम्पनी लिमिटेडले ५–५ लाख रुपैयाँ सहयोग गरेका छन्।
अपोलो हाइड्रोपावर लिमिटेडले ३ लाख, भिजन टेस्ला पावर प्रालिले २ लाख, प्रतिमा ज्ञवाली तथा समूहले १ लाख, भरत खत्री तथा समूहले १ लाख, चिर्खवा हाइड्रोपावर तथा निको इनर्जीले १ लाख र चम्पावती हाइड्रोपावर लिमिटेडले ५० हजार रुपैयाँ सहयोग गरेका छन्।
इप्पान दैवीप्रकोप उद्धार कोषले ६ लाख ३२ हजार २३ रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप तथा उद्धार कोषमा समेत सहयोग गरेको जनाएको छ।