घुस प्रकरणमा कागेश्वरी मनोहराकी इन्जिनियरसहित दुई जना पक्राउ
कागेश्वरी मनोहरा नगरपालिकामा कार्यरत सातौँ तहकी इन्जिनियर दीपा कार्की र बिचौलियाको भूमिका खेलेको आरोपमा आस्मा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।
भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर कार्कीले ‘स्ट्रक्चर एनालाइसिस’को काम स्वीकृत गरिदिएबापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
आयोगको टङ्गालस्थित कार्यालयबाट खटिएको टोलीले बिचौलिया भनिएकी आस्मा कार्कीलाई सेवाग्राहीबाट ६४ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा काठमाडौंको थली–डाँछी क्षेत्रबाट नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
प्रवक्ता न्यौपानेका अनुसार घटनामा इन्जिनियर दीपा कार्कीको समेत संलग्नता रहेको आशंकामा उनलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको हो।
अख्तियारले दुवै जनालाई विशेष अदालतमा उपस्थित गराई म्याद थप गरेर भ्रष्टाचारसम्बन्धी कसुरमा थप अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।