भोटेकोशीको बाढीले बेनीघाट रोराङमा ठूलो क्षति, १० जना बेपत्ता
गत बुधबार भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिकामा ठूलो जनधनको क्षति भएको छ। बाढीमा परी १० जना स्थानीय बासिन्दा बेपत्ता भएका छन्।
गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलियाका अनुसार वडा नं. ३, ५, ७, ९ र १० मा बाढीले बढी क्षति पुर्याएको छ। बेपत्ता हुनेमा जितबहादुर चेपाङ, अर्जुन रिजाल, अरुण कँडेल, किशोर गोली, विमल त्रिपाठी, सन्तोष परियार, राजेन्द्र श्रेष्ठ, अमृत उप्रेती, कुमार राउत र एकबहादुर घले छन्। उनीहरूको खोजी भइरहेको छ।
बाढीले मलेखुदेखि मौवाखोलासम्मको त्रिशूली नदी तटबन्ध, ६ वटा झोलुङ्गे पुल, ३३ वटा लिफ्टिङ खानेपानी आयोजना र ५ वटा सिँचाइ आयोजना पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। वडा कार्यालय, स्वास्थ्य केन्द्र, विद्यालय, सहकारी तथा सामुदायिक भवनमा समेत क्षति पुगेको छ।
गाउँपालिकाका अनुसार ३ वटा घर पूर्ण रूपमा ध्वस्त र ३७ वटा घरमा आंशिक क्षति पुगेको छ। २ वटा होटल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ९ वटा होटल तथा रिसोर्टमा आंशिक क्षति पुगेको छ।
बाढीले करिब २०० रोपनी कृषि क्षेत्र नष्ट गर्नुका साथै २२ वटा गोठमा क्षति र करिब ४५ वटा पशुचौपाया बगाएको छ। पालिकाले प्रभावित परिवारलाई राहत वितरण गरिरहेको भए पनि केन्द्रबाट हालसम्म राहत नपुगेको अध्यक्ष थपलियाले बताएका छन्।