सगरमाथाको उचाइ घोषणाको तयारी
२७ असोज, काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ घोषणा तयारीको काम अन्तिम चरणमा पुगेको सरकारी अधिकारीहरुले बताएका छन् ।
उचाइ घोषणाको काम कहिले, कुन तहबाट र कस्तो कार्यक्रम गरेर घोषणा गर्ने भन्ने सम्बन्धमा नापी विभागले भूमिव्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयसँग छलफल गरिरहेको छ ।
नेपालले उचाइ मापन गरिरहेकै समयमा चीनसँग उचाइ संयुक्त रुपमा घोषणा गर्ने सहमति भएपछि नापी विभागले त्यसलाई पर्खेको हो । गत बर्षको अक्टोबार महिनामा चिनियाँ राष्ट्र«पति सि जिनफिङको भ्रमणको समयमा संयुक्त रुपमा सगरमाथाको उचाइ घोषणा गर्ने सहमति भएको थियो ।
पछिल्लो समयमा नेपाल र चीनबीचमा उचाइ घोषणाका सम्बन्धमा कुराकानी भइरहे पनि सरकारी अधिकारीहरुले यस विषयमा केही पनि बताएका छैनन् ।
सगरमाथाको उचाइ ८,८४८ मिटर हो । तर, २०७२ सालको भूकम्प र अन्य कारणले उचाइमा केही तलमाथि भएको र लामो समयदेखि मापन नभएका कारण नेपालले आफैंले उचाइ मापनको काम अगाडि बढाएको हो ।
सरकारी अधिकारीहरुका अनुसार परराष्ट्र मन्त्रालयले जति छिटो चिनियाँ पक्षसँग बसेर यो विषय टुंगो लगाउँछ, त्यति नै छिटो उचाइ घोषणा हुनेछ । परराष्ट्र मन्त्रालयले भने यस विषयमा केही बताउन चाहेन ।