गाडी नै रिजर्भ गरेर नेपाल भित्रिँदै भारतीय नागरिक
प्रदेश १ का दक्षिणी सीमा क्षेत्रबाट दैनिक सयौँको संख्यामा निर्वाधरूपमा भारतीय नागरिक ओहोरदोहोर गर्ने गरेका छन् । सीमा क्षेत्रमा खटिएका नेपाल प्रहरी र शसस्त्र प्रहरीको आँखैअगाडि विना कुनै रोकटोक भारतीय नागरिक नेपालतर्फ आउने/जाने गरेका हुन् ।
सीमावर्ती भारतीय बजार र गाउँहरूसम्म आइपुगेर उनीहरू सिटि रिक्सा, टेम्पो र गाडी नै रिजर्भ गरेर नेपालतर्फको विभिन्न स्थानमा पुग्ने गरेका छन् । अहिले नेपालबाट भारत र भारतबाट नेपाल आवतजावतको लागि सरकारले प्रदेश १ मा मोरङको जोगवनी, रंगेली, सुनसरीको भान्टावरी, झापाको काँकडभिट्टा र इलामको पशुपतीनगर नाका ताकेको छ । सो नाकाबाहेक अन्यत्रबाट ओहोदोहोर गर्ने छुट छैन । तर, दिनहुँजसो संयौँको संख्यामा भारतीय नागरिकको ओहोरदोहोर हुने गरेको छ ।
मोरङको रतुवामाई, सुनवर्षीको सिक्टी, धनपालथान, जहदालगायतका स्थानबाट दैनिक भारतीयको ओहोदोहोर हुने गरेका कारण अझ तीव्र गतिमा कोरोना संक्रमण फैलने भन्दै स्थानीय त्रसित बनेका छन् । तोकिएका बाहेक अन्य नाका सिल गरिएको भए पनि नाम मात्रको सिल भएको स्थानीय पशुपति पासवानले बताए ।
मोरङको सुनवर्षी नगरपालिकाको सीमा नाकाबाट मात्र दैनिक सयौँको संख्यामा नेपालतर्फ आफन्तकोमा भारतीय आउने गरेका छन् । त्यति मात्र नभई व्यापारका लागिसमेत भारतीय नेपाल प्रवेश गरेर टाढाटाढा घरघरसम्म पुगेर व्यापार नै गरी फर्कने गरेको स्थानीयले बताए । सीमा क्षेत्र सिल गरिँदा समुदायस्तरमा संक्रमण फैलन रोकिए पनि अहिले संक्रमणको स्रोतसमेत पत्ता लाग्न छाडेको सीमा क्षेत्रका स्थानीय जनप्रतिनिधिले बताएका छन् ।
नेपाल-भारत ओहोरदोहोर गर्नेहरूले न्यूनतम सुरक्षा मापदण्डसमेत पालना नगर्ने गरेको पाइएको छ । मोरङका सीमावर्ती भारतीय फुलबडिया, सिक्टी र कुवाडी बजारमा नेपाली खाद्यान्न, लत्ताकपडालगायत दैनिक उपभोग्य वस्तु किनमेल गरेर फर्कने गरेको स्थानीयले बताए ।सुनवर्षीसँग जोडिएको सीमावर्ती भारतीय सिक्टी बजार छ । सो बजारमा दिनहुँ नेपाली सामान किनमेल गर्न पुग्ने गरेका छन् ।