विराटनगरमा दुई कोरोना संक्रमितको मृत्यु
(विराटनगर) विराटनगरमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र र नोबेल शिक्षण अस्पतालमा एक/एक जनाको मृत्यु भएको हो ।
विराटनगर महानगरपालिका–१२ का ५५ वर्षीय पुरुषको गएराति १०:५५ बजेतिर मृत्यु भएको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार पीसीआर परीक्षण गराउँदा असोज १३ गते रिपोर्ट पोजिटिभ आएका पुरुषलाई त्यही दिन उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारका लागि भर्ना भएको १८ दिनपछि अस्पतालकै आइसोलेसनमा संक्रमितको मृत्यु भएको बस्नेतले बताए। मृतकमा मधुमेहको पुरानै समस्या रहेको उनको भनाइ छ ।
विराटनगर महानगरपालिका–७ का ८६ वर्षीय वृद्धको नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा आइतबार बिहान ९ बजेतिर मृत्यु भएको हो। अस्पतालका प्रबन्धक नारायण दाहालले मृतकमा क्यान्सरको पुरानै समस्या रहेको जानकारी दिए ।
कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएपछि वृद्धलाई उपचारका लागि नोबेलको कोभिड अस्पतालमा असोज २५ गते भर्ना गरिएको उनको भनाइ छ । दाहालका अनुसार मृतकको परिवारका अरु तीन सदस्यलाई पनि संक्रमण देखिएको छ। कोरोना पुष्टि भए पनि परिवारका अरु सदस्य भने होम आइसोलेसनमै रहेको उनले बताए ।