ह्याम्स अस्पतालमा उपचाररत् कोरोना संक्रमितको मृत्यु
ह्याम्स अस्पताल धुम्बाराहीमा उपचाररत् ३२ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। श्वासप्रश्वासमा समस्या भएपछि उनी गत साउन २६ गते अस्पतालमा भर्ना भएका थिए।
आइसियुमा उपचारका क्रममा मंगलबार साँझ ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। धादिङ स्थायी घर भएका उनी श्वासप्रश्वास तथा मिर्गौलाका बिरामी रहेका अस्पतालका निर्देशक ज्योतिन्द्र शर्माले जानकारी दिए।
‘उहाँ अन्तिम अवस्थामा मात्रै अस्पताल आउनु भएको थियो, शरीरमा अक्सिजनको मात्रा निकै कम थियो,’ निर्देशक शर्माले भने, ‘अस्पताल आउनासाथ भेन्टिलेसनमा राखेर उपचार गरेको हो, तर सफल हुन सकेन।’