'काठमाडौंमा कोरोनाको डरलाग्दो संक्रमण, अस्पतालमा बेड अभाव हुनसक्ने'
(काठमाडौं) स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण ह्वात्तै बढेकाले सचेत रहन आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित पत्रकार सम्मेलनमा काठमाडौं उपत्यकामा कोरोना संक्रमित दर बढेकाले अप्ठ्यारो परिस्थिति सिर्जना भएको बताए।'
संक्रमित दर बढेकाले अप्ठ्यारो परिस्थिति छ। कुनै पनि सरकारी, सामुदायिक र निजी कार्यालयहरूमा कुनै पनि बैठक, छलफल वा सेमिनार बन्द गर्नु' गौतमले भने 'छलफल गर्नुपरे भर्चुअल विधिबाट गर्न अपिल गर्दछौं।'
पत्रकार सम्मेलनमा गौतमले काठमाडौंमा कोरोना संक्रमण वृद्धि भएकाले अस्पतालमा बेड, उपकरण र स्वास्थ्यकर्मीको अभाव हुने सम्भावना रहेको बताए। उनले भने 'औषधि र भेन्टिलेटरले उपचारमा सहयोग मात्र गर्ने हो। संक्रमण बढ्दै गएमा हाम्रो अस्पतालले धान्न सक्दैन। त्यसैले जनस्वास्थ्यको मापदण्ड कडाइका साथ लागु गर्नुहोला।'
२४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा ८७ जनामा कोरोना पुष्टि भएको छ। गौतमका अनुसार काठमाडौंका ७६, भक्तपुरका १ र ललितपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नेपालमा २४ घण्टाको अवधिमा ३६० जना कोरोना संक्रमित थपिएका छन्। हाल देशभर संख्या २१ हजार ७५० पुगेको छ।