पोखरामा कर्मचारीलाई कोरोना संक्रमण, २ वटा वडा सिल
(पोखरा) पोखरा महानगरमा सोमबार २ जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा दुई कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
जसमध्ये एकजना पोखरा महानगरकै कर्मचारी हुन् भने अर्का एक जना बागबानी केन्द्रका कर्मचारी हुन् । पोखरा २७ का वडा कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना पुष्टि भएपछि वडा कार्यालय सिल गर्ने तयारीमा महानगर लागेको छ ।
पोखरा महानगरपालिका– १९ मा कोरोना संक्रमित ६२ वर्षीय एक पुरुषको आइतबार मृत्यु भएपछि १ हप्तासम्मका लागि वडा क्षेत्र सिल गरिएको छ । वडाध्यक्ष शोभामोहन पौडेलले संक्रमितसँग सम्पर्कमा आएका ६ जनामा कोरोना पुष्टि भएपछि वडा सिल गर्नु परेको बताए ।
पहिलो चरणमा संक्रमितसँग सम्पर्कमा आएका ६७ जनाको स्वाब परीक्षण गरिएको थियो । जसमध्ये ६ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । आइतबारमात्रै संक्रमितको सम्पर्कमा आएका ८३ जनाको स्वाब संकलन गरिएको वडाध्यक्ष पौडेले जानकारी दिए ।
‘कोरोना समुदायस्तरमा फैलिने डर छ । अहिलेलाई अघोषित रुपमै वडा सिल गरेका छौं । पछिल्लो पटकको रिपोर्टको आधारमा अर्काे कदम चाल्ने योजनामा छौं,’ वडाध्यक्ष पौडेलले भने, ‘अहिले दिएका स्वाबमा पनि कोरोना संक्रमित फेला परे भने तत्काल वडालाई पूर्णरुपमा सिल गरेर अघि बढ्नुको अर्को विकल्प छैन ।’