निषेधाज्ञा सुरु भएपछि नागढुंगामा सयौं ट्रकको जाम
(काठमाडौं) काठमाडौंमा उपत्यकामा निषेधाज्ञा सुरु भएपछि काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा धेरै मालबाहक सवारी साधन रोकिएका छन् ।
बुधबार राति १२ बजेपछि निषेधाज्ञा सुरु भएपछि खाद्यान्न, तरकारी, औषधी, इन्धनलगायत अत्यावश्यक सामग्री बोकेको सवारी साधन मात्र प्रवेश दिइएको छ । तीबाहेक अन्य सामग्री लिएर आएका गाडीहरु भने नागढुंगामै रोकिएका छन् । निषेधाज्ञा सुरु हुनुअघि काठमाडौं उपत्यका प्रवेश गरेर गन्तव्यमा नपुगेका सवारी साधनलाई निषेधाज्ञा सुरु भएपछि प्रहरीले रोकेको हो ।
महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठले अत्यावश्यकबाहेकका अरु सवारी साधनलाई रोकेको जानकारी दिए । नागढुंगामा रोकिएका सवारी साधनले काठमाडौ प्रवेश विन्दुमा जाम थपेको छ ।