बारामा माछा मार्ने विषयमा दुई गाउँबीच झडप हुँदा १३ राउण्ड हवाई फायर
बारामा माछा मार्ने विषयमा झडप हुँदा १३ राउण्ड हवाई फायर भएको छ।
सोमबार बिहान १० बजे सिम सिम्रौनगढ नगरपालिका-११ र आदर्शकोतवाल गाउँपालिका– ६ को सीमानामा माछा मार्ने विषयमा दुई गाउँका स्थानीयबीच झडप भएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कृष्ण पंगेनीका अनुसार स्थानीय प्रहरीले धान्न नसक्ने भएपछि जिल्ला प्रहरीबाट खटिएको थियो।
'माछा मार्ने विषयमा दुई गाउँका स्थानीय करिब ११ सय जना जतिबीच झडप हुन लागेको थियो,'एसपी पंगेनीले भने,'प्रहरीले नियन्त्रणमा लिन नसक्ने भएपछि हवाई फायर र अश्रु ग्यास प्रहार गरेको हो।'
प्रहरीले १३ राउण्ड हवाई फायर र ६ राउण्ड अश्रुग्यास प्रहार गरेको हो। उनीहरूले गरेको ढुंगामुढा गर्दा तीन-चार जना प्रहरी घाइते समेत भएको एसपी पंगेनीले जानकारी दिए।
'उनीहरूको पक्षमा पनि केही ७-८ जना सामान्य घाइते छन्। हाम्रोबाट पनि चार-पाँच जना घाइते छन्,'उनले भने।
प्रहरीले कसैलाई पक्राउ भने गरेको छैन।