उदयपुरको बेलकामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि
(उदयपुर) उदयपुरमा २ वर्षीय बालिका देखि ७० बर्षीय बृद्धसहित थप ८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । त्यसमध्ये ४ जना समुदाय स्तरका मानिस हुन् । संक्रमितहरु २ वर्षका बालिका देखि ७० वर्ष उमेरसम्मका रहेका छन् । उदयपुरमा अहिलेसम्म संक्रमितको संख्या ८५ पुगेको छ । यसअघि भारतबाट आएका नागरिकहरुमा मात्र देखिएको कोरोना भाइरसको संक्रमण समुदायका नागरिकमा पनि देखिएको छ ।
बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाईको थ्रोट स्वाबबाट बेलका नगरपालिकाका ८ जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयाे।
प्रमुख सुवेदीका अनुसार संक्रमित हुनेमा बेलका नगरपालिका ९ का २ वर्षीय बालिका, उनकी २७ वर्षीय आमा, ४० वर्षीय बुवा र सोही घरमा काम गर्ने ७० वर्षीय वृद्धा रहेका छन्, त्यस्तै, बेलका नगरपालिका १ का १८ वर्षीय पुरुष, बेलका नपा ३ का ३० वर्षीय पुरुष, बेलका नपा ४ का २८ वर्षीय पुरुष र बेलका नगरपालिका ५ का ४० वर्षीय पुरुष रहेको प्रमुख सुवेदीले बताउनुभयाे ।
बालिकाको ७० वर्षीय हजुरबुवामा कोरोना देखिएपछि अन्यलाई चेक जाँच गराउँदा कोरोना पोजिटिभ आएको बेलका नगरपालिकाका स्वास्थ्य प्रमुख कमल चौधरीले बताए । उनका अनुसार गत विहिबार ७० वर्षिय वृद्ध सामान्य रुघाखोकी लागेपछि चेक जाँच गराउन विराटनगर जाँदा सवै रिपोर्ट ठिक आएपनि कोरोना चेक जाँच गराएर घर आएका थिए ।
तीन दिनपछि रिपोर्ट लिन जाँदा उनमा कोरोना देखिएपछि सिधै विपी कोइराला विज्ञान प्रतिष्ठान धरानको कोभीड अस्पतालमा पठाएर उपचाररत रहेको स्वास्थ्य प्रमुख चौधरीले जानकारी दिनुभयाे । उपचारको लागि विराटनगर लैजाने मोटर साइकल चालक र उनका श्रीमति बाहेक छोरा, बुहारी, नातिनी र काम गर्नेमा संक्रमण देखिएको छ । अहिले बेलका नगरपालिकाको केही क्षेत्रमा सूचना जारी गरेर पसल, व्यवसाय र आवतजावत आवगमनमा निषेध गरिएको नगर प्रमुख दुर्गा थापाले जानकारी दिनुभयाे ।
मंगलबारदेखि अर्को सूचना प्रकाशन नभएसम्मका लागि रामपुर बजार, कमलबारी देखि पश्चिम र मूर्तिखोला पूर्व, त्रिवेणी चोकदेखि उत्तर र शुसिल सेढाईको घर देखि दक्षिणसम्म घरबाट बाहिर ननिस्किन र सुरक्षाको उपाय अवलम्बन गर्ने सूचना जारी गरेको नगर प्रमुख थापाले बताउनुभयाे। उनीहरुलाई कसरी कोरोना सर्यो त्यस्को अनुसन्धान भैरहेको स्वास्थ्य प्रमुख सुवेदीले बताउनुभयाे । यो सँगै जिल्लामा कोरोना संक्रमीतको संख्या ८५ पुगेको छ, भने उपचार पछि निको भएर घर फर्किनेको संख्या ७० रहेको प्रमुख सुवेदीले बताउनुभयाे।