बंगलादेश र माल्दिभ्स पनि कोरोना पुग्यो
(काठमाडौं) चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) बंगलादेश र माल्दिभ्समा पनि पुगेको छ । दक्षिण एसियाली देश मध्ये यी दुबै देशमा कोरोनाको संकेत भोटिएको थिएन ।
बंगलादेशमा तीन जनामा कोभिड–१९ को संक्रमण भेटिएको हो । इपीडीयीमियोलोजी, रोग नियन्त्रण तथा अनुसन्धान संस्थान वा आईईडीसीआरका निर्देशक मेरजाड्डी साब्रिना फ्लोराका अनुसार दुई जना पुरुष र एक महिलामा कोरोनाको संक्रमण देखा परेको पुष्टि आइतबार गरेका हुन् ।
यस्तै माल्दिभ्समा पनि चार जनामा यसको संक्रमण देखिएको छ । सान्डीज रिसोर्टका दुई जनामा कोरोनाको संक्रमण भेटिएसँगै माल्दिभ्समा कोरोना संक्रमितको संख्या चार पुगेको हो ।
यसअघि कुरेदु टापु रिसोर्टका दुई जना कर्मचारीमा कोरोनाको संक्रमण भेटिएको पुष्टि त्यहाँका स्वास्थ्य मन्त्री अब्दुल्ला आमेनले पत्रकार सम्मेलनमार्फत गरेका थिए ।