प्रदेश २ मा प्रदेशको नामका लागि चुनाव शुरुः सत्ताधारी दललाई १६ मतको अभाव
(काठमाडौं) प्रदेश-२ को नामका लागि आज प्रदेशसभामा चुनाव हुने भएको छ । प्रदेश २ को नाम जानकी रहने कि मधेश प्रदेश रहने सम्बन्धमा आजै मतदान हुने भएको छ । सत्ताधारी दल राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र समाजवादी पार्टी नेपालका अधिकांश सांसद मधेश प्रदेशको पक्षमा छन् । सो पार्टीका केही सांसदहरु मध्य प्रदेशको पक्षमा पनि वकालत गरिरहेका छन् भने उता काँग्रेसले मिथिला भोजपुरा र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जानकी प्रदेशका लागि पहल गरिरहेका छन् ।
आज बिहानै मतदान गर्ने समय तय भएको थियो तर छलफल ढिलो सकेको कारण मतदानमा ढिलाई भएको हो । प्रदेशसभाको बैठक भर्खर सकिएको छ । चुनावी प्रकृया शुरु भएको छ । आजको छलफलमा ३० जनाले आ–आफ्नो धारणा राखेका थिए । सत्तारुढ दललाई मधेश प्रदेश नाम राख्नका लागि १६ मत कम भएको छ । नेकपा र काँग्रेसबाट १६ वटा मत तान्ने योजनामा सत्ताधारी दल रहेका छन् ।
गोप्य मतदान भएका कारणले नेकपा र काँग्रेसबाट मत आउने आशमा सत्ताधारी दल राजपा नेपाल र समाजवादी रहेका छन् । ती दलका नेताहरुले नेकपा र काँग्रेसका प्रदेश सांसदहरुसँग कुराकानी गरिरहेका छन् । मधेश प्रदेश पक्षमा मतदान गर्ने आश्वासन थुप्रैले दिएको प्रदेश सांसद उपेन्द्र महतोले बताए । मधेश आन्दोलनको मर्म र चाहनाअनुसार मधेश प्रदेश हुनुपर्नेमा लगभग सहमति हुने विश्वास लिएको उनले बताए ।
मधेशी जनता चाहे त्यो काँग्रेस होस्, नेकपा होस् सबैले मधेश प्रदेशका लागि आन्दोलन गरेका थिए र आज त्यो प्रदेश नामाकरण गर्ने दिन आइसकेको उनले बताए । मतदान भयो भने मधेश प्रदेश हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।
राजपा नेपालका प्रदेश सांसद प्रमेश्वर साहले पनि मधेश प्रदेशका लागि मतदान गर्न सबैलाई आग्रह गरेका छन् । मधेशको पहिचान दिने यो भन्दा अर्को अवसर कहिले नआउने बताउँदै उनले मधेशी जनताले गरेको आन्दोलनको मर्मलाई बुझेर सबैल मधेश प्रदेशका लागि मतदान गर्ने आफूले विश्वास लिएको बताए ।
उनले मधेश प्रदेश बाहेकका नामहरु पनि राम्रा रहेका तर सबैको भावना समिटिने काम के बाट हुन्छ त्यसमा सबैले विचार गर्नुपर्नेमा जोड दिए । नेकपाको तर्फबाट प्रदेश सांसद रामकुमार यादवले जानकी प्रदेशको प्रस्ताव गरेका थिए । उनले आफ्नो प्रस्तावमाथि कुरा राख्दै महिलाको अधिकारका लागि पनि जानकी प्रदेश हुनुपर्ने कुरामा जोड दिए ।
उक्त प्रदेशमा सर्वसम्मति नाम चयन हुन नसकेका कारण चुनाव हुन लागेको हो । दुई तिहाई बहुमत ल्याउनेले मात्र प्रदेशको नाम राख्न पाउने र १०७ मध्ये कम्तीमा ७२ मत ल्याउनुपर्ने हुन्छ । गोप्य मतदान प्रकृया सम्पन्न गराउनका लागि संसद सचिवालका सचिव रञ्जितकुमार यादवलाई निर्वाचन अधिकृत तोकिएको छ ।
राजधानीको नामका लागि संशोधन राखेका रामचन्द्र मण्डल र किशोर साह मण्डलले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिएका छन् । प्रदेशसभामा सत्ताधारी दल समाजवादी पार्टीको ३० राजपा नेपालका २५, नेकपाको ३२ र काँग्रेसको १९ सांसद र नेपाल समाजवादी पार्टीको एकजना सांसद रहेको छ । समाजवादी पार्टी र राजपाको जोडा ५५ मत हुन्छ । सत्ताधारी दललाई नेपाल समाजवादी पार्टीले पनि साथ दिँदा ५६ मत भएको छ । त्यसो भए सत्ताधारी दललाई १७ वटा मतको खाँचो छ ।
पहिलो चरणमा जानकी प्रदेशका लागि मतदान भइरहेको छ । जानकी प्रदेशलाई बहुमत प्राप्त भयो भने अर्को चुनाव गर्नुपर्दैन । यदि जानकी प्रदेशले बहुमत प्राप्त गर्न सकेन भने काँग्रेसले प्रस्ताव गरेको मिथिला भोजपुरका लागि मतदान हुनेछ । त्यसले बहुमत प्राप्त गर्यो भने ठिक्कै छ नभए मध्य मधेशका लागि अर्को मतदान हुन्छ । मध्यमधेशले बहुमत प्राप्त गर्न सकेन भने अन्त्यमा मधेश प्रदेशका लागि मतदान हुनेछ ।
प्रदेशको टुँगो लागेपछि राजधानी नामाकरणका लागि पनि मतदान हुने बताइएको छ । राजधानीका लागि पनि ३ वटा प्रस्ताव आएका छन् । तर लगभग राजधानीमा आन्तरिक रुपले कुरा मिलिसकेको बताइएको छ ।