प्रधानमन्त्री ओली : म ठीक भएर फर्कन्छु , मेरो अवस्थालाई लिएर चिन्ता नगर्नु होला
(काठमाडौं) प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मिर्गौला प्रत्यारोपण सफल हुने विश्वास व्यक्त गर्दै चाँडै काममा फर्किने दृढता जाहेर गर्नु भएको छ ।
आफ्नो दोस्रो पटकको मिर्गौला प्रत्यारोपणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा सोमबार भर्ना हुनु पूर्व ३ मिनेट १९ सेकेण्ड लामो भिडियो सन्देश देशवासीका नाममा जारी गर्दै उहाँले आफ्नो जीवनमा कुनै न कुनै संघर्ष चल्दै आएको बताउदै बताउनु भयो ।
आफ्नो जीवनको कुनै समयमा लोकतन्त्रविरुद्धको संघर्ष, कुनै समय निरङ्कुशताविरुद्ध, कहिले राष्ट्रिय हितका लागि त कहिले राजनैतिक स्थायीत्वको लागि सघर्ष चलेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यो संघर्षबाट आफु अलप नहुने दृढता पनि व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले सुखी नेपाली र समृद्ध नेपालको नारालाई साकार बनाएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्दै समृद्धिको यात्रामा लम्केको मुलुकको सपना पूरा गर्न आफु प्रतिबद्ध रहेको समेत बताउनु भयो ।
उहाँले आफ्नो स्वास्थ्य अवस्थालाई लिएर चिन्ता नगर्न पनि आम देशवासीमा आग्रह गर्नु भएको छ । प्रधानमन्त्री ओलीले विज्ञान र प्रविधिको विकासले मिर्गौला प्रत्यारोपण सहज बनेको विश्वास पनि व्यक्त गर्नुभयो ।
मुलुक बनाउने क्रममा आफ्नो मिर्गौला १२ बर्षअघि गरिएको प्रत्यारोपणलाई पुन प्रत्यारोपण गराउनु पर्ने भएकाले अस्पताल भर्ना हुँदै गरेको पनि उहाँले भिडियो सन्देशमा बताउनु भएको छ । उहाँले बिगतका समयमा स्वदेशमा मिर्गौला प्रत्यारोपणको सेवा नभएको स्मरण गर्दै हाल नेपालमै आफ्नो मिर्गौला पुनः प्रत्यारोपण गराउन पाउदा अत्यन्तै खुसी लागेको बताउनु भएको छ ।
उहाँले आफु अस्पताल रहँदा सरकारका काम र पार्टीका सम्पूर्णका काम यथास्थितीमै सञ्चालन भइराख्ने जानकारी गराउदै पार्टीका सबै जिम्मेवार नेता तथा कार्यकर्ता क्रियाशील रहने बताउनुभयो । उहाँले कोरोना भाइरसबाट नेपालमा पर्नसक्ने समस्याको सम्बन्धमा पनि सबै पूर्वाधार तयार गरेको बताउनु भएको छ । भिडियो सन्देश मार्फत प्रधानमन्त्री ओलीले आफुलाइ स्वास्थ्यलाभको कामना गर्ने विश्वभरका सबै मित्रहरुलाइ धन्यबाद समेत व्यक्त गर्नु भएको छ ।
यसैबीच प्रधानमन्त्री ओली दोस्रो पटक गरिन लागिएको मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनु भएको छ ।
सोमबार साँझ अस्पताल भर्ना हुनु भएका प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिदैछ । उहाँलाई मिर्गौला दान गर्ने नाताले भाञ्जी पर्ने दाता समीक्षा संग्रौला ज्ञवाली पनि त्रिवि शिक्षण अस्पताल भर्ना भइसक्नु भएको छ ।