कोरोनाको असर : विश्व पर्यटनमा ५० अर्ब डलरबराबरको नोक्सानी
(काठमाडौं) कोरोना भाइरसको संक्रमणका कारण नराम्रोसँग प्रभावित भएको पर्यटन क्षेत्रमा सन् २०२० मा तीन प्रतिशतसम्मको गिरावट आउने प्रक्षेपण गरिएको छ । संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठन (यूएनडब्यूटीओ) गरेको प्रक्षेपण अनुसार सन् २०२० मा विश्वभर १ देखि ३ प्रतिशतसम्मको गिरावट आउने छ ।
सन् २०१९ मा विश्वभर १ अर्ब ४६ करोड मानिस एक मुलुकबाट अर्को मुलुकमा भ्रमणको उद्देश्यले निस्किएको संगठनको तथ्यांक रहेको छ । यसअनुसार विश्वभर करिव ४ करोड ३८ लाख पर्यटक कम हुने संगठनको अनुमान छ ।
सन् २०२० प्रारम्भ भएदेखि नै चीनमा फैलिएको कोरोना संक्रमणले चिनियाँ पर्यटक घुमघाममा निस्कन पाएका छैनन् । चीन जाने लाखौं पर्यटकसमेत रोकिएका छन् । त्यसले समग्र पर्यटनमा नकारात्मक प्रभाव पर्ने अनुमान संगठनले गरेको छ । यसअघि संगठनले जनवरीको पहिलो साता गरेको प्रक्षेपणमा विश्वभर पर्यटक आगमनमा ३ देखि ४ प्रतिशतसम्मको वृद्धि हुने अनुमान गरेको थियो । पर्यटक आगमनमा हुने गिरावटले पर्यटनमा अुने आयसमेत घट्ने छ ।
सन् २०२० मा ३० देखि ५० अर्ब डलर (५० खर्ब रुपैयाँभन्दा माथि)को क्षति हुने प्रक्षेपण संगठनले गरेको छ । संगठनका अनुसार कोरोनाले सबैभन्दा प्रभावित एशिया तथा एसिया प्रशान्त क्षेत्र हुनेछ । नेपालसमेत यही भेगमा पर्छ ।
संगठनका अनुसार एशिया र एसिया प्रशान्त क्षेत्रमा ९ देखि १२ प्रतिशतसम्मको गिरावट आउने प्रक्षेपण गरिएको छ । यसअघि जनवरीमा गरेको प्रक्षेपणमा यो भेगमा ५ देखि ६ प्रतिशतसम्मको वृद्धि हुने अनुमान थियो ।
अहिले संसारमा बढी घुमघाममा निस्कने पर्यटकमध्ये एशियाली धेरै छन् । जसमा ठूलो जनसंख्या बोकेका चीन र भारतीय बढी हुन्छन् । कोरोना भाइरसको संक्रमण कम गर्न र यसले पर्यटनमा पारेको प्रभाव न्यूनिकरण गर्न संगठनले विश्व स्वास्थ्य संगठन तथा अन्य एजेन्सीसँग नजिकमा रहेर काम गरिरहेको समेत बताएको छ ।
कोरोनाका कारण हवाइ, जल तथा रेल यातायात प्रभावित हुन, अन्तरराष्ट्रिय व्यापारमा गिरावट आउँदासमेत त्यसले पर्यटन क्षेत्र प्रभावित हुन पुगेको हो ।