कोरोनाको प्रभाव मुद्रामा पनि, नेपाली रुपैयाँ कमजोर बन्दैछ
(काठमाडौं) नेपाल राष्ट्र बैंकले मंगलबारका लागि अमेरिकी डलरको बिक्रीदर प्रति डलर ११८ रुपैयाँ ८४ पैसा तोकेको छ । याे यस वर्षकै उच्च हाे ।
अघिल्लो सोमबार अमेरिकी डलरको बिक्रीदर प्रति डलर ११५ रुपैयाँ ८६ पैसा तोकिएको थियो । एक सातामै करिब ३ रुपैयाँले अमेरिकी डलरको भाउ बढेको छ ।
विश्वभर कोरोना भाइरसको संक्रमणका कारण त्रास फैलिरहेका बेला अमेरिकी डरल बलियो बन्दै गएको छ भने नेपाली रुपैयाँ झनझन कमजोर बन्दै गएको छ । २ वर्ष अघिको र अहिलेको तुलना गर्ने हो भने त झन नेपाली रुपैयाँ धेरै नै कमजोर भएको देख्न सकिन्छ । महिना दिनकै तुलना गर्ने हो भने पनि एक महिनामा अमेरिकी डलर करिब ४ रुपैयाँले बढेको छ । ९ फेब्रुअरीमा ११४ रुपैयाँ ५३ पैसा थियो । आजभन्दा ठ्याक्कै एक वर्ष अघि ९ मार्च २०१९ मा अमेरिकी डलरको भाउँ ११२ रुपैयाँ ५४ पैसा थियो भने २ वर्ष अघि अर्थात ९ मार्च २०१८ मा १०४ रुपैयाँ ५३ पैसा थियो ।
दुई वर्षको अवधिमा १४ रुपैयाँले अमेरिकी डलर बलियो बनेको छ । यद्यपि, यो इतिहासकै महंगो भने होइन । गत वर्ष अमेरिकी डलरको मूल्य ११९ रुपैयाँ नजिक पुगेको छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहने गरेको छ । यसकारण केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुने गरेको छ ।
अमेरिकी डलरको भाउ उच्च हुँदा नेपालको अर्थतन्त्रमा केही नकरात्मक असर पर्न सक्ने अर्थविदहरु बताउँछन् । डलरको भाउ बढ्ने बित्तिकै विदेशी सामानहरू नेपालीको निम्ति महंगो हुन जाने भएका कारण पनि अमेरिकी डलरको भाउ बढ्दा यसको असर नेपाली अर्थतन्त्रमा देखिन्छ ।