खसीको भन्दै बाख्राको र कुकुरको मासु बेच्न खोजेको आरोपमा ३ जना पक्राउ
कैलालीको गोदावरी नगरपालिका–१ अत्तरिया बजार र बसपार्क क्षेत्रमा मासुको विषयमा शंकास्पद गतिविधि गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
शुक्रबार अत्तरिया बजारको धनगढी लाइनमा सञ्चालित रफिक मासु पसलबाट दुई जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा पसल सञ्चालक भारतीय नागरिक ६५ वर्षीय रफिक करेसी र कञ्चनपुरको कृष्णपुर घर भएका ४१ वर्षीय गणेश धामी छन्।
उनीहरूले खसीको मासु भन्दै बाख्राको मासु बिक्री गरेको आरोप छ। जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ। पक्राउ परेका दुवै जनामाथि इलाका प्रहरी कार्यालय मालाखेतीले अनुसन्धान गरिरहेको छ।
प्रहरीले बरामद गरेको मासु परीक्षणका लागि प्रयोगशालामा पठाएको छ। प्रयोगशाला परीक्षणको रिपोर्ट आएपछि मासुको वास्तविक पहिचान खुल्ने प्रहरीले जनाएको छ।
यसैगरी, बिहीबार गोदावरी नगरपालिका–१ स्थित बसपार्कबाट कुकुरको मासु बेच्न खोजेको आरोपमा ६५ वर्षीय सुरेश नेपाली पक्राउ परेका थिए। कुकुर काटेको सूचना आएपछि इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको डीएसपी तिमिल्सिनाले बताए।
गोदावरी नगरपालिका–२ घर भएका नेपालीले अनुसन्धानका क्रममा आफूले खानका लागि स्यालको मासु काटेको बताएका छन्। प्रहरीले उनीबाट बरामद गरेको मासुसमेत परीक्षणका लागि प्रयोगशालामा पठाएको छ।
प्रहरीका अनुसार सुरेशबाट बरामद भएको मासु कुकुर, स्याल वा अन्य कुन जनावरको हो भन्ने हालसम्म पुष्टि भएको छैन। प्रयोगशाला परीक्षणको रिपोर्टका आधारमा थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।