पूर्वराजा ज्ञानेन्द्रले प्रधानमन्त्री ओलीलाई स्वास्थ्यलाभको शुभकामना दिए
पूर्वराजा ज्ञानेन्द्र शाहले मिर्गौला प्रत्यारोपण गर्न त्रिवि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
पूर्वराजाले मंगलबार शुभकामना सन्देश पठाएर प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपणसहित शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन्। शाहका प्रेस सहयोगी फणिराज पाठकले सेतोपाटीलाई दिएको जानकारीअनुसार पूर्वप्रमुख सचिव पशुपतिभक्त महर्जन शुभकामना सन्देश लिएर शिक्षण अस्पताल गएका छन्।
‘पूर्व राजा ज्ञानेन्द्रवीर विक्रम शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपणसहित शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ। शुभकामना सन्देश लिएर पशुपतिभक्त महर्जन शिक्षण अस्पताल महाराजगञ्ज जानु भएको हो,’ उनले भने।
प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार साँझ अस्पताल भर्ना भएका हुन्।