नेपालबाट स्पेन फर्केका पर्यटकको कोरोनाका कारण मृत्यु
(काठमाडौं) नेपालमा हालसम्म कोरोना भाइरस फेला नपरे पनि यहाँको भ्रमण गरेर स्पेन पुगेका एक पर्यटकको कोरोना संक्रमणकै कारण निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भ्यालेन्सियाको स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै डेलीमेलले जनाएअनुसार, नेपाल भ्रमणबाट फर्किएका ती पर्यटकको सिटी अस्पतालमा उपचारका क्रममा गत फेब्रुअरी १३ मा निधन भएको हो ।
कोरोनाका कारण ज्यान गुमाउने ती व्यक्तिबारे विस्तृत केही बताइएको छैन । कोरोनाभाइरस संक्रमणका कारण स्पेनमा ज्यान गएको यो पहिलो घटना हो । त्यहाँस्थित क्षेत्रीय स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै डेलीमेलले स्पेनमा हालसम्म १९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको जनाएको छ ।
यसअघि १७ जनामा कोरोनाको लक्षण देखिएकोमा थप २ जनामा पनि संक्रमण भेटिएको हो ।