चीनसँगको सीमा पूरै बन्द गर्न माग गर्दै हङ्कङमा अस्पतालका कर्मचारीले हडताल सुरू गरे
(एजेन्सी) चीनसँगको सीमा पूरै बन्द गर्न माग गर्दै हङ्कङमा अस्पतालका कर्मचारीहरुले हडताल सुरु गरेका छन्। कोरोना भाइरसको सङ्क्रमण कम गर्नका लागि अस्पतालका सयौँ कर्मचारीहरुले सो माग गर्दै हडताल सुरु गरेका हुन् ।
सोमबार अत्यावश्यक सेवाबाहेकका स्वास्थ्यकर्मीहरू उक्त आन्दोलनमा सहभागी भएका छन्। हङ्कङले सीमावारिपारि गर्ने रेल बन्द गरेको छ। तर स्वास्थ्यसेवाका कर्मचारीहरूले भने पूरै सीमा बन्द गर्नुपर्ने माग गरेका छन्। हङ्कङमा अहिलेसम्म १५ जनामा कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ। सीमा पूरै बन्द नभएमा महामारीसँग सङ्घर्ष गर्न पर्याप्त जनशक्ति, सुरक्षा उपकरण वा आइसोलेशन कक्ष नभएको जनाइएको छ।
मङ्गलबारसम्म उक्त माग पूरा नभएमा अत्यावश्यक सेवाका चिकित्सक र नर्सहरू पनि आन्दोलनमा सहभागी हुने बताइएको छ । चीनमा कोरोनाको संक्रमनबाट हालसम्म ३६१ जनाको मृत्यु भएको छ भने १७ हजारभन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ ।