प्रश्नपत्र बाहिरिएपछि पोखरामा डाक्टरको परीक्षा रद्द
(पोखरा) पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलो पटक सञ्चालन गर्न लागेको स्नातकोत्तर मास्टर इन डक्टरेट (एमडी) र मास्टर इन सर्जरी (एमएस) तहको परीक्षा नै रद्द भएको छ । शनिबार एमडी र एमएसको परीक्षा तोकिएको थियो ।
प्रश्नपत्र बाहिरएको भन्दै केही विद्यार्थीले बहिष्कार गरेपछि परीक्षा स्थगित भएको हो । लोकसेवातर्फ ९ र खुल्लातर्फ ८ गरी १७ सिटका लागि डाक्टरहरुले आवेदन दिएका थिए । ४१ सय रुपैयाँ तिरेर १ हजार ३७ जनाले परीक्षाका लागि फारम भरेका थिए ।
परीक्षा दिन १ हजार १२ जना उपस्थित रहेको प्रतिष्ठानका निर्देशक अर्जुन आचार्यले जानकारी दिए । तर, त्यसमध्ये केहीले प्रश्नपत्र नै बाहिरिएको, धाँधली भएको भन्दै परीक्षा बहिष्कार गरेपछि विवाद उत्पन्न भएको थियो । अमरसिंह नमूना मावि केन्द्रमा २ बजे परीक्षा हुने भएपछि परीक्षार्थीहरु समयमै पुगेका थिए । परीक्षा नै १ घन्टा ढिला गरी ३ बजेमात्रै सुरु भएको थियो ।
‘१ घन्टापछि मात्र परीक्षा सुरु भयो । परीक्षा सकेर निस्कँदै गर्दा खल्ती छाम्दै पठाउँदै गरियो,’ परीक्षामा सहभागी विशाल सापकोटाले भने, ‘बाहिर जाँदा पो बल्ल थाहा भयो, प्रश्नपत्र बाहिरिएको र केहीले बहिष्कार गरेको भनेर ।’
प्रश्नपत्र बाहिरिएको र मिलेमतोसमेत भएको भन्दै बहिष्कार र विवाद भएपछि परीक्षार्थीले पुनः परीक्षा गर्न माग गरेका थिए । शनिबार अबेरसम्मै परीक्षा समितिको बैठक बसेको थियो । राति ११ बजे परीक्षा रद्ध गर्ने निर्णय गर्दै समितिले आइतबार सूचना जारी गरेको छ ।
प्राविधिक कारणले परीक्षा स्थगित गर्नुपरेको र अर्को सूचना प्रकाशित गरी परीक्षाको मिति तय हुने प्रतिष्ठानले जनाएको छ । ३ बज्नै लाग्दा पनि परीक्षा सुरु नभएपछि परीक्षा दिन पुगेका केहीले सोधखोज गर्न थालेका थिए । उनीहरुले प्रश्नपत्र नै बाहिएको खबर सुनेपछि होहल्ला सुरु भएको थियो ।
प्रतिष्ठानले गएको पुस ०७ गते भर्नाका लागि एक महिने सूचना निकालेको थियो । प्रतिष्ठानका उपकुलपति वुद्धिबहादुर थापाले परीक्षा सुरु भइसकेपछि मात्र प्रश्नपत्र बाहिरिएको बताउँछन् । ‘कतै परीक्षा सुरु भइसकेको थियो । कतै ढिला गरी सुरु हुँदै रहेछ,’ थापाले भने, ‘विवाद आएपछि परीक्षा रद्ध गरिएको छ । कारणबारे छलफल र अनुसन्धान भइरहेको छ ।’