कोरोना भाइरस : स्वास्थ्य संकटकाल घोषणामा अमेरिकी राजनीति
(काठमाडौं) चीनले सोमबार कोरोना भाइरसको विषयमा अमेरिकाले अनाश्यक डर, त्रास फैलाएको आरोप लगायो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिंगले अमेरिकाले रोग नियन्त्रणको प्रयासमा ठोस सहायता गर्नुको सट्टा स्थितिलाई भयावह बनाउने काम गरेको आरोप लगाए ।
‘अमेरिका पहिलो देश हो जसले चीनस्थित दुतावासका कर्मचारीलाई फिर्ता बोलाउने र चीन भ्रमण गरेर फर्केका यात्रुलाई आफ्नो देश प्रवेशमा रोक लगाउने काम गर्यो र्यो ’ प्रवक्ता चुनयिंगले सञ्चार माध्यमहरूसँग भनेकी छन् ।
यो प्रतिक्रियाको निहितार्थ भने अमेरिकाको आफ्ना दुतावासका कर्मचारीलाई फिर्ता बोलाउने वा चीन पुगेका पर्यटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने निर्णयमा सीमित नरहेको विश्लेषकहरू बताउँछन् । विश्व स्वास्थ्य संगठनले ३० जनवरीमा नोवेल कोरोना भाइरसलाई लिएर ‘अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य संकट’ घोषणा गरेको असन्तुष्टि चिनियाँ विदेश मन्त्रालयमार्फत व्यक्त भएको उनीहरूको विश्लेषण छ ।
जेनेभामा बसेको अन्तराष्ट्रिय स्वास्थ्य नियमनको आपतकालीन समितिको बैठकले कोरोना भाइरसको प्रकोपलाई संकटकाल घोषणा गर्ने निर्णयप्रति चीन खुशी थिएन । त्यही बेखुशी प्रवक्ता चुनयिंगमार्फत प्रकट भएको जानकारहरू बताउँछन् ।
अष्ट्रेलिया र सिंगापुरले पनि चीन गएर फर्केका विदेशी नागरिकलाई आफ्नो देशमा आउन प्रतिबन्ध लगाइसकेको छ । न्युजिल्याण्ड, इजरायलले चीनको मुख्यभूमि तथा जापान र दक्षिण कोरियाले हुबेई प्रान्तमा यात्रा गरेका विदेशी नागरिकलाई आउन निषेध गरेको छ । फिनल्याण्ड, मिश्र, बेलायत, इटलीलगायतका देशले पनि चीनको मूख्यभूमिमा उडान भर्ने राष्ट्रिय ध्वाजाबाहक विमान कम्पनीको उडानमा रोक लगाएको छ । यसका बाबजुद प्रवक्ता चुनयिंगले अमेरिकाको मात्रै आलोचना गरेको देखिन्छ ।
दुई हप्तायता चीन भ्रमण गरेकालाई अमेरिका प्रवेश गर्न नदिने समाचारलाई चीनको सरकारी सञ्चार माध्यम ‘ग्लोबल टाइम्स’ ले आफ्नो ट्विटर हेन्डलमा सबैभन्दा माथि (पिन्ड) राखेको छ ।