विद्यालयको जग्गा मिचेर बाटो विस्तार, ललितपुरबासीले जलाए मेयरको पुत्ला
(ललितपुर) सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै विद्यालयको जग्गा मिचेर सडक विस्तार गरिएको विरोधमा ललितपुरका स्थानीयले मेयर चिरीबाबु महर्जनको पुत्ला दहन गरेका छन् ।
ललितपुर महानगरपालिका–३, पुल्चोकमा रहेको मदन स्मारक माध्यमिक विद्यालयको जग्गा मिचेर सडक विस्तार गरिएको विरोधमा मंगलबार बिहान मेयरको पुत्ला दहन गरिएको हो ।
सर्वोच्च अदालतमा समेत पुगेको यो मुद्दाको अन्तिम टुंगो नलाग्दै बाटो बिस्तार गरिएको भन्दै स्थानीयबासीले विरोध गर्दै आएका छन् । स्थानीयबासीका अनुसार बाटो बिस्तार गरिएको स्थान वडा नम्बर ३ मा पर्ने भए पनि वडा नम्बर २० को उपभोक्ता समितिले काम गरेको छ ।
स्थानीय कदम लालले भने, ‘सर्वोच्च अदालतले जेठ १ गते अन्तरिम आदेश जारी गरेको छ । तर महानगरपालिकाले सर्वोच्चलाई पनि च्यालेन्ज दिएको छ । जबर्जस्ती बनाउनु भनेको कानुनको धज्जी उडाउनु हो ।’ बाटो बिस्तार दायाँ-बायाँ बराबर गर्नुपर्ने भए पनि विद्यालयको जग्गा मिचेर एकतर्फीमात्र बिस्तार गरिएपछि स्थानीयबासी आक्रोशित छन् । मदनस्मारक माविका पूर्वविद्यार्थी एवम् स्थानीय महेशराज बज्राचार्यले विद्यालयको जग्गा नमिच्न गरेको आग्रह बेवास्ता गर्दै महानगरले सडक विस्तार गरेपछि बाध्य भएर मेयरको पुत्ला जलाएको बताए ।
बज्राचार्यका अनुसार, विद्यालयको पूर्वतर्फको पर्खाल भत्काएर महानगरपालिकाले सडक विस्तार गर्न खोजेलगत्तै स्थानीय र पूर्वविद्यार्थीले त्यसो नगर्न सुझाएका थिए । तर, त्यसको बेवास्ता गर्दै विद्यालयको पर्खाल भत्काएर करिब ७ आना जग्गा मिचिएको छ । जग्गा मिचिएपछि मेयरलगायतसँग कुराकानी भए पनि त्यसबाट निकास ननिस्किएपछि स्थानीयबासी संघर्षमा छन् ।