अस्ट्रेलियामा डढेलो नियन्त्रणमा नआएपछि ‘आपतकाल’ घोषणा
(एजेन्सी) करिब पाँच महिना अघिदेखि लागेकाे डढेलो नियन्त्रणमा नआएपछि अस्ट्रेलियाले ‘आपतकाल’ घोषणा गरेको छ । गत सेप्टेम्बरदेखि फैलिएको डढेलो राजधानी सहर क्यानबेराको दक्षिणी भेगमा पुग्न लागेपछि ‘आपतकाल’ अवस्था घोषणा गरिएको हो ।
सन् २००३ मा लागेको डढेलोपछि पहिलो पटक ‘आपतकाल’ घोषणा गरिएको बताइएको छ । अन्तराष्ट्रि सञ्चारमाध्यमको अनुसार अनियन्त्रित डढेलो १८५ स्क्वायर किलोमिटरसम्म फैलिसकेको छ । नबेराको उपनगरका बासिन्दालाई सुरक्षित ठाउँमा जान पनि आग्रह गरिएको सञ्चारमाध्यमले जनाएको छ ।
‘आपतकाल’ अवस्था ७२ घण्टासम्म लागू हुने बताइएकाे छ । सहर खाली गर्न, सडक बन्द गर्न अधिकारीहरूलाई आदेश पनि दिइसकेको बताइएको छ । सिड्नी र मेलबर्नको बीचमा पर्ने यो क्षेत्रमा ४ लाख मानिसको बसोबास गर्छन् ।
डढेलोका कारण अहिलेसम्म ३३ जनाको मृत्यु भइसकेको छ । करिब २५ सय घर जलेर नष्ट भइसकेका छन् भने ५० करोडभन्दा बढी पशुपंक्षीको मृत्यु भइसकेको बताइएको छ।
अधिकारीहरुले यो आगलागी गएको दुई दशककै सबैभन्दा भयानक र खतरनाक भएको बताएका छन् । गत सेप्टेम्बरदेखि अस्ट्रेलियाको इष्ट कोस्टसम्म फैलिएको डढेलो नियन्त्रण गर्न अग्नि नियन्त्रकहरूले प्रयास गरिरहेका छन् ।