प्रधानमन्त्री : प्रचण्डजीले अग्नि भन्नुभयो, मैले मानेँ
(काठमाडौं) सभामुखलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पेचिलै विवाद भयो । सुरुमा त्रिपक्षीय (शीतल निवास, बालुवाटार र खुमलटार) जस्तो देखिएको शक्ति संघर्ष पछिल्लोपटक दुई अध्यक्षमा केन्द्रित थियो ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेका थिए भने अर्का अध्यक्ष प्रचण्डले अग्नि सापकोटालाई । नेम्वाङ कि सापकोटा भन्ने टुंग्याउन नसकेपछि दुबै अध्यक्षले पहिले उपसभामुख शिवमाया तुम्बाहाङफेलाई राजीनामा गराउने बाटो खोजे ।
तुम्बाहङफेले राजीनामा नदिँदासम्म संविधानअनुसार नेकपाले सभामुखमा उम्मेदवार नै दिन नसक्ने भएकाले पहिले उपसभामुखलाई राजीनामा गराउने सहमति भयो । दुबै अध्यक्षले बोलाएर छलफल गर्दा तुम्बाहङफेले आफूलाई सभामुखको उम्मेदवार बनाउने भए मात्र राजीनामा दिने शर्त राखिन् ।
सचिवालयले उनलाई राजीनामा दिन भन्यो । तर, उनलेयोग्यता सूची पेश गरिन्। यसले नेकपाभित्र सभामुख विवाद यति पेचिलो बन्यो कि पूर्वमाओवादीका नेताहरुले प्रचण्डलाई प्रधानमन्त्री बनाउने भए सभामुख छाड्ने सम्म भने ।
तर, आइतबार ‘निकै सहज रुपमा’ अग्नि सापकोटालाई सभामुख बनाउने सहमतिजुटेको छ ।
दुई नेता बिहीबार पनि भेटेका थिए । त्यो भेटमा ओली पार्टी एकताको भावना सम्बोधन हुने गरी सभामुख छान्न तयार भएको भन्दै पूर्वमाओवादी नेताहरु उत्साहित भएका थिए । तर, प्रधानमन्त्री निकतवर्तीहरुले त्यो दाबी खण्डन गरेका थिए ।
त्यसपछि आइतबार बिहान दुई नेताले बालुवाटारमा भेटघाट गरे । यो भेटमा ओली प्रचण्डको प्रस्ताव अनुसार सापकोटालाई सभामुख बनाउन सहमत भएका थिए । स्रोतका अनुसार प्रचण्डले कुनै हालतमा सापकोटालाई नै सभामुख बनाउनुपर्ने अडान राखेपछि ओलीले ‘ल त नि, तपाईले जिम्मा लिएर गर्नुस्’ भनेका थिए ।