हमला गरे निकै महँगो मूल्य चुकाउनु पर्ने : चीनलाई ताइवानको चेतावनी
ताइवानकी राष्ट्रपति साई इंग–वेनले बीबीसीलाई दिएको अन्तर्वार्तामा चीनले ताइवानलाई हमला गरे निकै महँगो मूल्य चुकाउनुपर्ने चेतावनी दिएकी छिन् । उनले अब चीनले ‘वास्तविकताको सामना’ गर्नुपर्ने र ताइवानलाई ‘इज्जत’ गर्नुपर्ने पनि बताएकी छिन् ।
डेमोक्रेटिक प्रोग्रेसिव पार्टीकी साई इंग–वेनले शनिबार आएको नतिजामा भारी मतले जीत हासिल गरेर पुनः ताइवानकी राष्ट्रपति छानिएकी छिन् । आफ्नो चुनावी अभियानमा उनले चीनको खतरामाथि मानिसहरुको ध्यान केन्द्रित गर्ने विशेष कोसिस गरेकी थिइन् । चीनको सत्ताधारी कम्युनिष्ट पार्टीले ताइवानमाथि लामो समयदेखि आफ्नो अधिकारी जताउँदै आएको छ । कम्युनिष्ट पार्टीले आवश्यक पर्दा ताइवानलाई बलपूर्वक सम्मिलित गर्ने अधिकार आफूसँग भएको बताएको छ ।
यस्तै, साई ईंग वेनले ताइवानको सम्प्रभुतासँग कुनै पनि स्थितीमा सम्झौता गर्न नसकिने बताउँदै आएकी छिन् ।
६३ वर्षीया वेनले बीबीसीसँगको विशेष कुराकानीमा भनेकी छिन्, ‘ आफूलाई एक स्वतन्त्र देशको रुपमा घोषणा गर्न हामीलाई आवश्यक छैन । हामी पहिलादेखि नै एक स्वतन्त्र राष्ट्र हौं र आफूलाई रिपब्लिक अफ चाइना, ताइवान भन्छौं ।’
दोस्रोपटक चुनाव जितेपछि यो वेनको पहिलो अन्तर्वार्ता हो ।