भारतको नागरिकता विधेयक राज्यसभाबाट पनि पास, आसाम अशान्त, गुवाहाटीमा कर्फ्यु
(काठमाडौं) भारतको राज्यसभाबाट पनि नागरिकता संशोधन विधेयक पास भएको छ । यद्यपि यसको विरोधमा बिभिन्न स्थानमा आन्दोलन चर्र्र्किएकाले कर्फ्युसमेत लगाउनु परेको छ ।
सोमबार विधानसभाबाट पारित भइसकेको नागरिकता विधेयक बुधबार राज्यसभाबाट पनि पारित भएको हो । विधेयकको पक्षमा १२६ र विपक्षमा १०५ मत परेको थियो । त्यसअघि करिब आठ घण्टासम्म विधेयकमा बहस भएको थियो ।
प्रधानमन्त्री नरेन्द्र मोदीले यो कानुनबाट वर्षौंदेखि उत्पीडनमा परेकाहरुको पीडा अन्त्य गर्ने दाबी गरे ।
यस्तै भाजपाका अध्यक्ष एवम् केन्द्रीय गृहमन्त्री अमित शाहले राजनीति गर्न तर देशलाई धर्मको नाममा विभाजन नगर्न आह्वान गर्दै भने, ‘यसको आगोले आफ्नै घरलाई जलाउँछ ।’
नागरिकता विधेयकमा भारतसँग सीमा जोडिएका अफगानिस्तान, बंगलादेश र पाकिस्तानबाट धार्मिकरुपमा प्रताडित भएर भारतमा शरण लिँदै आएका हिन्दु, बौद्ध, शिख, जैन, फारसी र क्रिश्चियनलाई भारतको नागरिकता दिने उल्लेख छ । यसमा मुस्लिम उल्लेख छैन । विपक्षी दलहरुले मुस्लिम समुदायलाई सरकारले भेदभाव गरेको भनेर विरोध गर्दै आएका छन् । उनीहरुले यो विधेयक भारतीय संविधानको धारा १४ को समानताको हकसम्बन्धी व्यवस्था विपरीत भएको तर्क गरेका छन् ।
मोदी नेतृत्वको सरकारले नागरिकता संशोधन विधेयक ल्याएलगत्तै भारतमा फैलिएको आक्रोश राज्यसभाबाट पनि पारित भएपछि थप चर्किएको छ । बुधबार आन्दोलन चर्किंदै गएपछि आसामको गुवाहाटीमा साँझदेखि अनिश्चितकालका लागि कर्फ्यु लगाइएको छ । प्रदर्शनकारीले त्यहाँको चबुआ र पनीटोला रेल स्टेशनमा तोडफोड तथा आगजनी गरेका छन् । अन्य केही सवारी साधनमा पनि आगजनी भएको छ ।
स्थानीय प्रशासनले सेनालाई उच्च सतर्कतामा राखेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । आसामको गुवाहाटी, राजधानी दिसपुर तथा संकटग्रस्त क्षेत्रमा केन्द्रीय १० कम्पनी अर्धसैनिक बल र राज्य सुरक्षा बललाई तैनाथ गरिएको छ । डिब्रुगढ र तिनसुकिया रेल स्टेशनमा उच्च सतर्कता अपनाइएको छ । कतिपय जिल्लामा इन्टरनेट सेवासमेत बन्द गराइएको भारतीय मिडियाहरुले लेखेका छन् ।
प्रदर्शनकारीले बुधबार दिनभर केन्द्र र राज्य सरकारविरुद्ध नाराबाजी गर्दै नागरिकता विधेयक विनासर्त फिर्ता गर्न माग गरेका थिए । उनीहरुले सडकमा टायर बालेर यातायात आवागमन अवरुद्ध पारेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले रबरका गोली र अश्रुग्यास प्रहार गरेको थियो ।
विधेयकको विरोधमा आसामका बिभिन्न स्थानमा हिंसात्मक घटनाहरु भएका छन् । प्रहरीको हस्तक्षेपबाट विद्यार्थीहरुसहित कम्तिमा २५ जना प्रदर्शनकारी घाइते भएका छन् ।
गुवाहाटीबाट प्रकाशित हुने दैनिक पत्रिका पूर्वोदयका सम्पादक रविशंकर रविले बीबीसँग भनेका छन्, ‘यो आन्दोलनलाई साहित्य, कला र सँस्कृतिसँग जोडिएका मानिसहरुले समेत समर्थन गरेका छन् । यस्तो लाग्छ यहाँका हरेक व्यक्ति आन्दोलित छन् ।’ सम्पादक रविशंकरका अनुसार प्रदर्शन चर्किएपछि गुवाहाटी र डिब्रुगढ विश्वविद्यालयका परीक्षा पनि स्थगित भएका छन् ।
विरोध प्रदर्शनका कारण बुधबार आसामका मुख्यमन्त्री सर्बानन्द सोनोवाल गुवाहाटी विमानस्थलमा धेरै बेरसम्म रोकिन बाध्य भएका थिए । सोनोवाल तेजपुरबाट आसामको राजधानीस्थित गोपीनाथ बोरदोलोई अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका थिए । तर विरोध प्रदर्शनका कारण उनी धेरै बेरसम्म विमानस्थलको भीआईपी कक्षमै रोकिन बाध्य भएको स्थानीय सञ्चार माध्यमले लेखेका छन् ।