श्रीलङ्काको राष्ट्रपतिमा पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेका भाइ गाेटाबाया राजापाक्षे विजयी
(एजेन्सी) श्रीलङ्काको राष्ट्रपतिमा विपक्षी दलका तर्फबाट उम्मेदवार बनेका गोटाबाया राजापाक्षे विजयी भएका छन् । झण्डै दश वर्षअगाडि उनी रक्षामन्त्री रहेका बेला तमिल टाईगर्सको द्वन्द्व अन्त्यका लागि महत्वपूर्ण भूमिका खेलेका थिए । उनै राजापाक्षे आइतबार श्रीलंकाकाे राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
श्रीलङ्काली सेनाका पूर्व ‘लेफ्टिनेन्ट कर्णेल’ समेत रहेका राजापाक्षेले झण्डै ५३ प्रतिशत मत प्राप्त गरेका उनका प्रवक्ताले जानकारी दिए।
उनले सत्तारुढ दलका तर्फबाट उम्मेदवार बनेका सजिथ प्रेमादासलाई पराजित गरेका हुन् । ‘उहाँको स्पष्ट जित भएको छ, हामी धेरै खुशी छौँ, गोटा नयाँ राष्ट्रपति बन्नु भएको छ,’ राजापाक्षेका प्रवक्ता केहेलिया राम्बुक्वेलाले भने । उनले राष्ट्रपतिकाे सपथग्रहण कार्यक्रम एक-दुई दिनमै हुनसक्ने बताएका छन् ।