चितवन मेडिकल कलेजको विरोधमा विद्यार्थी र अभिभावकको प्रदर्शन
(चितवन) चितवन मेडिकल कलेजले उठाएको अतिरिक्त शुल्क फिर्ता नगरेको विरोधमा विद्यार्थी, अभिभावक तथा नागरिक समाजको अगुवाईमा चितवनमा आइतबार प्रदर्शन भइरहेको छ ।
विद्यार्थीहरुको नेतृत्व चिकित्सा शिक्षा संघर्ष समितिले गरेको छ, भने अभिभावक र नागरिक स्वतः स्फूर्त विरोध प्रदर्शनमा सहभागी भएका हुन् । चितवनको चौबिसकोठीबाट निस्केको जुलुसले बजार परिक्रमा गरेको छ । मेडिकल कलेजलाई शिक्षा मन्त्रालयले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्न १५ दिनको समय दिएको थियो ।
विद्यार्थीका अनुसार अहिलेसम्म मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता गरेको छैन । शिक्षा मन्त्रालयले १५ दिनभित्र गैरकानूनी रुपमा लिएको शुल्क फिर्ता नगरे मेडिकल कलेजलाई कारबाही गर्ने बताएको थियो । सरकारले राजधानीबाहिरका मेडिकल कलेजमा एमबीबीएस अध्ययनका लागि ४२ लाख ५० हजार रुपैयाँ शुल्क तोकेको छ । तर, मेडिकल कलेजले एमबीबीएस पहिलो वर्षका विद्यार्थीबाट ५५ लाख रुपैयाँसम्म शुल्क उठाएर ठगी गरेको छ ।
होस्टल शुल्क, खाना, रजिष्ट्रेसन, ट्युसनलगायत भन्दै मेडिकल कलेजहरूले जथाभावी शुल्क उठाइरहेको विद्यार्थीको गुनासो छ । आन्दोलनको अगुवाई चिकित्सा शिक्षा संघर्ष समितिले गरिरहेको छ ।