नेकपा कार्यकर्ताद्वारा कांग्रेसका वडाध्यक्ष उम्मेद्वारमाथि हातपात
(बैतडी) बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ४ मा नेपाली कांग्रेसबाट वडा अध्यक्षका उम्मेद्वार सुरेन्द्रप्रसाद भट्ट माथि हातपात भएको छ ।
गएराति १० बजेको समयमा नेकपाका कार्यकर्ताहरुले आफूमाथि हातपात गरेको र आफूले भागेर ज्यान जोगाएको उपनिवार्चनका वडाअध्यक्षका उम्मेद्वार भट्टले जानकारी दिनुभयो । आफ्नो एकजना कार्यकर्तालाई नेकपाका कार्यकर्ताहरुले नियन्त्रणमा लिई आफूलाई फोन गर्न लगाएको र उसलाई छुटाउन जाँदा आफूमाथि हातपात भएको उम्मेद्वार भट्टले दाबी गर्नुभयो ।
दोगडाकेदार गाउँपालिका ४ को मटेला भन्ने ठाउँमा आफूमाथि हातपात भएको उम्मेद्वार भट्टले बताउनुभयो । यो बिषयमा प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले नेपाली कांग्रेसका उम्मेद्वार भट्टमाथि हातपात भएको मौखिक जानकारी आएको बताउनुभयो । घटनाको थप अनुसन्धान भइरहेको जनाईएको छ ।