प्रधानमन्त्री ओलीकाे स्वास्थ्यमा श्वासप्रश्वासको समस्या र इन्फेक्सन देखियो
(काठमाडौं) प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछी बुधबार धापासीस्थित ग्राण्डी अस्पताल भर्ना हुनुभयो । प्रधानमन्त्रीको सचिवालयले उहाँको नियमित स्वास्थ्य परिक्षणको लागि अस्पताल गएको बताए पनि न्युज २४ को टोलीले उहाँलाई श्वासप्रश्वासमा समस्या र इन्फेक्सन भएर उपचार गर्न अस्पताल लागिएको प्रमाण नै फेला पारेको छ ।
मृगौला प्रत्यारोपण गरेका कारण पटकपटक स्वास्थ्यमा समस्या आइरहने प्रधानमन्त्री ओली अस्पताल जानु सामान्य मानिन्छ । प्रधानमन्त्रीको स्वास्थ्यमा गम्भीर समस्या नै देखिए पनि नियमित जाँच हो भन्दै प्रधानमन्त्री सचिवालय र उहाँका नजिक नेताहरु झुट बोलिरहन्छन् ।
बुधबार त्यस्तै भयो । बिहान १० बजे उहाँलाई ग्राण्डी अस्पताल लगिएको थियो । प्रधानमन्त्रीको निजि सचिवालयले उहाँको नियमित जांच भएको बताएको छ । त्यस्तै प्रधानमन्त्री भेट्न अस्पताल नै पुग्नुभएका रक्षा मन्त्री इश्वर पोख्रेलले पनि उहाँको नियमित जांच भएको बताउनुभयो ।
बुधबार दिनभर अस्पताल बस्नुभएका प्रधानमन्त्री ओलीको खकारको नमुना संकलन गरेर ब्याक्टिरियोलोजी परिक्षण गर्न दिइएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछी यो परिक्षण गर्न दिइन्छ । त्यस्तै इन्फेक्सन कुन हो भनेर थाहा पाउन खकारको कल्चर गर्न समेत दिइएको छ । यसले उहाँलाई श्वासप्रश्वास सम्बन्धी समस्या र इन्फेक्सन भएको प्रष्ट पार्छ ।
प्रधानमन्त्रीको १२ वर्षअघि फेरिएको मिर्गाैलाको काम गर्ने क्षमता घट्दै गएको कारण नै यस बर्ष उहाँ धेरै पटक अस्पताल नै भर्ना हुनेगरी बिरामी पर्नुभयो । प्रत्यारोपण गरेको मृगौला मै समस्या देखिएपछी दुई महिना अघि मात्र प्रधानमन्त्री ओलीले सिंगापुरबाट ‘प्लाज्माफेरेसिस’गरेर फर्किनुभएको थियो । तर पनि उहाँले आफू स्वस्थ रहेको आश्वस्त बनाउने प्रयासचाहिँ गरिरहनुभयो ।