संसदीय विशेष समिति गठनपछि अवरुद्ध संसद बैठक सुरु
काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको नेतृत्वमा संसदीय विशेष समिति गठन गरेसँगै संसदको गतिरोध हटेको छ । संसदमा गतिरोधको अवस्था आउन नदिनका लागि संविधान, नियम र स्थापित परम्पराअनुसार आवश्यक अध्ययन गरी सुझाव दिन नेम्वाङको नेतृत्वमा समिति गठन गरेको हो ।
विपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालले सर्लाही घटनामा संसदीय छानबिन समिति गठन गर्नु पर्ने माग गर्दै गएको असार २४ गतेदेखि संसद बैठक अवरुद्ध गर्दै आएका थिए ।अबदेखि संसदमा गतिरोधको अवस्था उत्पन्न हुनै नदिने अवस्था निर्माणका लागि समिति गठन भएकाले विपक्षी दलले संसदीय छानबिन समितिको माग छाडेर सदन खुलाउन तयार भएका हुन् ।
समितिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङ, कांग्रेस सचेतक पुष्पा भुसाल, मिनेन्द्र रिजाल, उमाशंकर अरगरियालगायत ७ सदस्य रहनुभएको छ । समिति बनेसँगै झण्डै एक महिनादेखि अवरुद्ध हुँदै आएको संसद बैठक सोमबारबाट सुरु भएको छ ।