गोरखाकी एलिजालाई मिस जनजातिको उपाधि
काठमाडौं । मिस जनजाति २०१९ को ताज गोरखाको दुर्गम गाउँ केरौंजाकी एलिजा गुरुङले पहिरिएकी छिन् । राष्ट्रिय नाचघर जमलमा भएको प्रतिष्पर्धामा नौ जनालाई पछि पार्दै गुरुङ मिस जनजातिको ताज पहिरिन सफल भएकी हुन् । मिस भ्यूअर्स च्वाइस र मिस बेस्ट हेयर, बन्न सफल गुरुङले नगद ५० हजारसहित मेडल प्राप्त गरेकी छन् ।
धार्चे गाउँपालिका २ केरौंजाकी गुरुङले ट्यालेण्ट राउण्ड, इन्टरडक्शन राउण्ड, प्रश्नोत्तर राउण्ड र फाइनल राउण्डसम्म आउँदा उत्कृष्ठ प्रस्तुती गरेकाले प्रथम घोषणा गरिएको आयोजक एसके इन्टरटेनमेण्टले जनाएको छ । फाइनल प्रतिष्पर्धाका लागि एलिजासंगै १० जना भिडेका थिए । एलिजा तमु ह्युला छोजधि गुरुङ राष्ट्रिय परिषदको जिल्ला सदस्य र उत्तरी गोरखा तमु समाजको पनि जिल्ला सदस्य हुन् । साथै दुर्गम ठाउँ केरौंजामा रहेर समाजसेवा गरिरहेकी प्रतिभा हुन् ।
प्रतियोगितामा अप्सरा गोले फस्र्ट रनर अप र प्रेमकुमारी मगर सेकेण्ड रनर अप बन्न सफल भएका छन् । उनीहरुलाई आयोजक संस्थाका सन्त लामा र गण्डकी प्रदेशकी सांसद मनकुमारी गुरुङले ताज पहिर्याएका छन् । साथै धार्चे गाउँपालिकाकी उपप्रमुख फूलमाया गुरुङले सम्मान गरेकी थिइन् ।
बिभिन्न जातजाति, भेषभुषा, कला संस्कृति, रहनसहन, रीतिथितिको संरक्षण र राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गने लक्ष्य रहेको एलिजा गुरुङले बताइन् । त्यस्तै मिसेस जनजातिमा मिना मोक्तान घोषणा भएकी छिन् । त्यस्तै फस्र्ट रनरअपमा सुशीला थापा, सेकेण्ड रनरअपमा चिसाङ लामा, थर्ड रनरअपमा रोजिना गुरुङ र फोर्थ रनरअपमा रश्मि गुरुङ घोषणा भएका छन् ।