सिरहामा सवारी दुर्घटना, ३ को मृत्यु, १२ जना घाइते
पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सिरहाको लहान नगरपालिका–११ स्थित पडरियामा आज दिउँसो यात्रु सवार म्याजिकलाई मालवाहक ट्रकले ठक्कर दिँदा तीनजनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना१ज ७४५४ नम्बरको म्याजिकलाई यात्रु चढाउने क्रममा सोही दिशामा गइरहेको ना८ख २४१५ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक विजय यादवले जानकारी दिए ।
दुर्घटनामा परी तीनैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सिरहाको पुरानो चोहर्वा निवासी ४० वर्षीय गणपति महरा, सिरहाकै वरियारपट्टी गाउँपालिकाकी ७० वर्षीया बचियादेवी राम र नाम ठेगाना नखुलेको एक महिलाको घटनास्थलमै ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रहरी नायब निरीक्षक मनोज चौधरीले जानकारी दिए ।
दुर्घटनामा १२ जनाभन्दा बढी यात्रु घाइते भएका छन् भने एकजनाको अवस्था चिन्ताजनक छ । घाइतेको उपचार लहान अस्पतालमा भइरहेको प्रहरीले जानकारी दिएको छ ।