मेहन्दी हानिकारक गर्भवती महिलालाई
पछिल्लो समय मेहन्दीले फेसनको रुप धारण गरेको छ । देखासिकीकै आधारमा मेहन्दी लगाउनेहरू पनि धेरै छन् । कुहिनादेखि औंलाको टुप्पासम्म मेहन्दी लगाउने चलन छ । विशेषगरी, हिन्दु नारीले सुन्दरता र सौभाग्यका लागि साउनभरि मेहन्दी लगाउँछन् । तैपनि, बजारमा पाइने मेहन्दीले स्वास्थ्यमा असर पु¥याउने चिकित्सकहरू बताउँछन् ।बजारीया मेहन्दी लगाउँदा सचेत बन्नुपर्ने चिकित्सकहरू बताउँछन् । यस्तो मेहन्दीमा रसायन हुने भएकाले छालामा विभिन्न समस्या देखिने चिकित्सकको भनाइ छ ।
छाला रोग विशेषज्ञ डा. स्मृति श्रेष्ठ भन्छिन्, ‘मेहन्दीलाई गाढा बनाउने नाउँमा यसमा विभिन्न केमिकल प्रयोग गर्नुहुँदैन । जसले मानिसको स्वास्थ्यमा असर गर्छ । बजारमा पाइने जस्तोसुकै मेहन्दीका कारण छाला पोल्ने, छालाको एलर्जी, फोका उठ्ने, डाबर उठ्नेजस्ता समस्या देखिन्छन् त्यसैले सस्तो मूल्यमा पाइयो भन्दैमा जस्तोेसुकै मेहन्दी लगाउनुहुँदैन ।’प्राकृतिक मेहन्दी प्रयोग गर्न चिकित्सकको सुझाव छ । हरियो हिना मेहन्दीको प्रयोग सामान्यतया ठीकै मानिए पनि रातो वा कालो हिनाको प्रयोग छालाका लागि अनुपयुक्त हुने डा. श्रेष्ठ बताउँछिन् ।
त्यस्तै, कपालमा प्रयोग गरिने हिनाले पनि छालामा समस्या निम्त्याउने डा. श्रेष्ठको भनाइ छ । हरियो रङको हिनाले सामान्यतया छालामा कम असर गरे पनि लामो समयसम्म कालो वा रातो रङको मेहन्दी प्रयोग गर्दा त्यसमा प्रयोग गरिएको केमिकलले निधार वा अनुहार कालो हुने श्रेष्ठ बताउँछिन् । श्रेष्ठका अनुसार हिनालाई कालो वा रातो बनाउन प्रयोग गरिने केमिकलले हातमा छिटो मेहन्दी लागे पनि यसले छालामा विभिन्न समस्या निम्त्याउँछ । साथै छालामा कुनै पनि प्रकारको एलर्जी भएका मानिसले त्यस्तो मेहन्दीको प्रयोग गर्नुहुँदैन ।
मेहन्दी हानिकारक गर्भवती महिलालाई
गर्भवती महिलाले मेहन्दी प्रयोग गर्नु त्यति उत्तम नभएको चिकित्सकहरू बताउँछन् । मेहन्दीमा प्रयोग भएका केमिकलले गर्भको बच्चालाई असर गर्ने र गर्भ तुहिन सक्ने भएकाले सकेसम्म गर्भवतीले कपाल वा हातमा मेहन्दी नलगाउँदा उत्तम हुने डा. श्रेष्ठ बताउँछिन् ।नेपालमा मेहन्दी व्यापारका लागि कुनै मापदण्ड बनाइएको छैन । त्यस्तै, यसको अनुगमन पनि गरिँदैन ।
यसकारण, बजारमा जथाभावी रुपमा मेहन्दी बिक्री भइरहेको छ । अनुगमन नहुँदा महिलाहरू बजारमा उपलब्ध स्वास्थ्यप्रतिकूलका मेहन्दी लगाउन बाध्यसमेत छन् ।