विश्वकपको एसिया छनोटमा पराजित हुँदै नेपालले तेस्रो स्थानमा चित्त बुझायो
काठमाण्डौ । सिंगापुरविरुद्ध टी२० विश्वकपको एसिया छनोटमा पराजित हुँदै नेपालले तेस्रो स्थानमा चित्त बुझाएको छ । प्रतियोगिता सकिएसँगै नेपालका दुई खेलाडी सन्दीप लामिछाने र सोमपाल कामी सिंगापुरबाट सिधै क्यानडातर्फ जानेछन् । दुवैजना ग्लोबल टी२० लिग खेल्न क्यानडा जान लागेका हुन् ।
सन्दीपलाई टोरन्टो नेशनल्सले आबद्ध गरेको छ भने सोमपालले विन्निपेग हक्सबाट खेल्नेछन् । सन्दीप लगातार दोस्रोपटक सो लिगमा आबद्ध भएका हुन् भने सोमपालले पहिलोपटक खेल्दैछन् । ग्लोबल टी२० को अघिल्लो सिजन मोन्ट्रियल टाइगर्सबाट खेलेको सन्दीपले ५ खेलमा ८ विकेट लिएका थिए । सन्दीपलाई टोरन्टोले ६० हजार डलरमा आबद्ध गरेको हो भने पहिलोपटक विदेशी फ्रेन्चाइज लिग खेलिरहेका सोमपालले ३ हजार डलर पाउनेछन् ।
ग्लोबल टी२० गत बिहीबारबाट सुरु भइसकेको छ । सन्दीप र सोमपाल दुवै एसिया छनोटमा नेपालका लागि खेल्न व्यस्त भएकाले आफ्ना सुरुवाती खेल गुमाएका छन् । आइतबार राती नै क्यानडातर्फ जाने तयारीमा रहेका सन्दीप र सोमपालले प्रतियोगिताको दोस्रो खेल पनि गुमाउनेछन् । सन्दीपको टोरन्टो नेसनल्सले दोस्रो खेल खेलिसकेको छ भने सोमपालको विन्निपेग हक्सले आज भ्यानकुभर नाइट्सको सामना गर्दैछ ।
दुवै खेलाडीले लिगको आफ्नो पहिलो खेलमा एकअर्काको सामना गर्ने सम्भावना बढी छ । विन्निपेगले भोली टोरन्टोविरुद्ध खेल्दै छ । दुवै खेलाडीले सोही खेलबाट यो सिजनको सुरुवात गर्ने सम्भावना रहेको छ ।
यस्तै, नेपाली राष्ट्रिय टोलीका अन्य खेलाडी भने भोली नै स्वदेश फर्किने छन् । नेपाली टोली भोली राती १०ः३० मा काठमाडौं आइपुग्ने व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिएका छन् ।