धादिङमा जीप दुर्घटना, पाँचजनाको घटनास्थलमै मृत्यु , १० जना घाइते
असार ६, काठमाडौं :
धादिङको गल्छी गाउँपालिका ६ बाँझगाउँमा शुक्रबार बोलेरो जीप दुर्घटना हुँदा कम्तीमा पाँचजनाको ज्यान गएको छ । गल्छी गाउँपालिका ५ को सिरुवारीबाट बैरेनी गइरहेको बा १८ च ९४०८ नम्बरको तरकारी बोकेको जीप कच्ची सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।
दुर्घटनामा गल्छी गाउँपालिका ६ का २५ वर्षीय नानु तामाङ, ३० वर्षीय कान्छी भुजेल, गल्छी गाउँपालिका ४ का ३८ वर्षीय सेते मिजार र २५ वर्षीय राजु रम्तेलको घटनास्थलमै मृत्यु भएको छ।दुर्घटनामा १० जना घाइते भएका छन् । दुर्घटनामा परेकी २१ वर्षीया समिक्षा अधिकारीको उपचारका लागि लाने क्रममा बाटोमा मृत्यु भएको प्रहरी चौकी बैरेनीले जानकारी दिएको छ।
घाइतेहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरेर काठमाडौँ लगिएको छ । यो बोलेरो जीप माथिल्लो सडकबाट दुर्घटना भएर अर्को सडकमा बजारिएको थियो।