सुन प्रतितोला ६५ हजार पुग्यो, अझै बढ्ने
आज सुनको मूल्य ६५ हजार रुपैयाँ पुगेको छ । सुनको मूल्य अझै बढ्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरन्त शाक्यले बताए ।
उनका अनुसार सुनको मूल्य बढेसँगै बजारमा चहलपहल पनि कम भएको छ । ‘बिहीबारदेखि नै सुन पसलमा ग्राहक कम हुन थालेका छन्, यसले सुन बजारलाई प्रभाव पारेको छ,’ उनले भने ।
पछिल्लो दिनमा इरान र अमेरिकाबीचको द्वन्द्वले तेल बजारसहित सुनको मूल्य पनि बढेको हो । अमेरिकाको केन्द्रीय बैंक फेडेरल रिजर्भले आगामी दिनमा ब्याजदरमा थप कटौती हुन सक्ने बताएसँगै सुनको भाउ बढेको हो ।
बिहीबार न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्समा बिहानदेखि नै सुनको भाउ बढेको थियो । बिहीबार सुनको भाउ अधिकतम प्रतिऔंस १ हजार ३८६ डलर ६० सेन्टसम्म पुगेको थियो । यो पाँच वर्षयताकै उच्च हो ।