पूर्वमुख्य सचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
पूर्वमुख्य सचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकमाथि भएको ठगी प्रकरणमा संलग्न रहेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको हो।
यस प्रकरणमा सीआईबीले बुधबार दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा तत्कालीन श्रममन्त्रीहरू शेरबहादुर कुँवर र रामेश्वर राय यादव, तत्कालीन सचिव विनोद केसी, सहसचिव उमेश ढुंगाना, राजीव पोखरेल र उपसचिव निर्मला गुरुङ रहेका छन्।
मलेसियन सरकारसँग भएको सम्झौताविपरीत श्रमिकबाट रकम संकलन गरी ठगी गरेको आरोप उनीहरूमाथि छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जाहेरी दिएपछि सीआईबीले अनुसन्धान अघि बढाएको हो। पक्राउ परेका व्यक्तिमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको छ।
यता पक्राउ पुर्जी जारी भएका पूर्वमुख्य सचिव अर्याल भने सम्पर्कविहीन रहेको बताइएको छ।