बङ्गलादेशमा हसिनाका समर्थकको प्रदर्शनपछि सात जिल्लामा सुरक्षा सतर्कता
पूर्वप्रधानमन्त्री शेख हसिनाका समर्थकले राष्ट्रव्यापी प्रदर्शन र ‘लकडाउन’ आह्वान गरेपछि बङ्गलादेश सरकारले राजधानी ढाकासहित सात जिल्लामा सयौँ सुरक्षाकर्मी परिचालन गरेको छ ।
सन् २०२४ अगस्टमा विद्यार्थी आन्दोलनपछि सत्ता गुमाएकी हसिना भारतमा निर्वासनमा रहँदै आएकी छन् । उनले आगामी डिसेम्बरमा स्वदेश फर्किने घोषणा गरेपछि बङ्गलादेशको राजनीतिक वातावरण थप तनावपूर्ण बनेको हो ।
हसिनाको दल अवामी लिगले बिहीबार राष्ट्रव्यापी प्रदर्शनको आह्वान गरेको थियो । त्यसक्रममा समर्थकहरूले ढाका–गोपालगञ्ज राजमार्गका विभिन्न स्थानमा प्रदर्शन गर्दै यातायात अवरुद्ध गरेका छन् । केही स्थानमा आगजनी तथा हिंसात्मक घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
यसैबीच, प्रधानमन्त्री तारिक रहमानले राजनीतिक विरोधीहरूले देशलाई अस्थिर बनाउन खोजेको आरोप लगाउँदै लोकतन्त्र समर्थक शक्तिहरूलाई एकजुट हुन आग्रह गरेका छन् ।
प्रहरीका अनुसार अवामी लिगसँग सम्बन्धित १०७ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पूर्वशिक्षामन्त्री नुरुल इस्लाम नाहिदसमेत रहेका छन् ।
प्रदर्शनकारीमाथि भएको दमनसम्बन्धी मानवताविरुद्धको अपराधमा दोषी ठहर भएपछि हसिनालाई अदालतले अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो । उनको सम्भावित स्वदेश फिर्तीलाई लिएर बङ्गलादेशमा राजनीतिक तनाव बढ्दै गएको छ ।