विश्वकै प्रदूषित सहरमध्ये काठमाडौं तेस्रो स्थानमा
विश्वका प्रमुख प्रदूषित सहरको सूचीमा काठमाडौं तेस्रो स्थानमा परेको छ। वायु प्रदूषण मापन गर्ने संस्था आईक्यूएयरले बिहीबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौंको वायु गुणस्तर सूचकांक (यूएस एक्यूआई) १८३ पुगेको छ।
बिहान ८ः४५ देखि ९ः४५ बजेसम्मको तथ्यांकअनुसार पहिलो स्थानमा पाकिस्तानको लाहोर रहेको छ। लाहोरको एक्यूआई ३२५ र दोस्रो स्थानमा रहेको बंगलादेशको ढाकाको २५६ रहेको छ।
त्यस्तै, भारतको दिल्ली १८२ एक्यूआईसहित चौथो, पाकिस्तानको कराँची १६७ सहित पाँचौँ र इजिप्टको कायरो १६५ सहित छैटौँ स्थानमा छन्।
आईक्यूएयरका अनुसार काठमाडौंको वायु प्रदूषण अस्वस्थकर तहमा पुगेको छ। यस्तो अवस्थामा विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरू बढी जोखिममा रहनेछन्।