कठिन भूगोल र तमाम चुनौती चिर्दै पिस हिलको यात्रा : प्रवासको पसिना भुस्मे र लमजुङको पर्यटनमा खन्याउँदै जितबहादुर तामाङ
आफ्नो जन्मभूमिप्रतिको अगाध प्रेम, समर्पण र पर्यटन विकासको दृढ संकल्प बोकेर प्रवासको कमाइ आफ्नै गाउँठाउँमा लगानी गरिरहनुभएका व्यक्तित्व हुनुहुन्छ, जितबहादुर तामाङ। लमजुङको पर्यटन प्रवर्द्धनमा छुट्टै पहिचान बनाउन सफल ‘पिस हिल रिसोर्ट’ का सञ्चालक तामाङले यतिबेला मर्स्याङ्दी गाउँपालिका वडा नं. ८ स्थित आफ्नो जन्मथलो भुस्मे र समग्र जिल्लाको पर्यटन विकासका लागि झेल्दै आउनुभएका भौगोलिक, प्राविधिक तथा व्यवहारिक कठिनाइहरू सार्वजनिक गर्नुभएको छ।
लामो समय अमेरिकामा बसोबास गर्दै दैनिक १६-१७ घण्टासम्म कडा परिश्रम गरेर पसिना बगाउँदै आर्जन गर्नुभएको पुँजी उहाँले विलासितामा होइन, आफ्नै जन्मथलो भुस्मेभन्दा माथि पिस हिल रिसोर्ट स्थापनामा लगानी गर्नुभएको हो। द्वन्द्वकालको चपेटामा परेर विस्थापित भएका गाउँलेहरूको मर्मलाई सम्बोधन गर्ने, आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने तथा वरिपरिका गाउँबासीलाई आफ्नै ठाउँमा रोजगारीको अवसर सिर्जना गर्ने पवित्र उद्देश्यका साथ उहाँले यो महत्वाकांक्षी अभियानमा हात हाल्नुभएको थियो। उहाँको यही दूरदर्शी सोच र पिस हिलको विकाससँगै आज ओझेलमा परेको भुस्मे गाउँमा पर्यटनको बलियो सम्भावना देखिनुका साथै पिस हिलमार्फत लमजुङ जिल्लालाई नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण टेवा पुगेको छ।
विकास र पर्यटन पूर्वाधार विस्तारका क्रममा तामाङले व्यक्तिगत लगानीमै ठूला-ठूला कार्यहरू अघि बढाउँदै आउनुभएको छ। केही समयअगाडि भुस्मे गाउँ नजिकै विशाल पहिरो खस्दा बर्खायाममा भुस्मे-भुलभुले सडक खण्ड पूर्ण रूपमा अवरुद्ध हुने विकराल समस्या देखिएको थियो। गाउँबासीले भोग्नुपरेको यो सास्तीलाई मध्यनजर गर्दै उहाँले आफ्नै निजी लगानीमा रिङटाङ जाने बाटोतर्फबाट वैकल्पिक ट्र्याक खोलेर बर्खाको समयमा समेत सवारी साधन अवरुद्ध नहुने गरी भुस्मे गाउँ जोड्ने महत्वपूर्ण योजना अघि बढाउनुभयो। गाउँप्रतिको उत्तरदायित्व बहन गर्दै उहाँले आफ्नै खर्चमा नयाँ ट्र्याक खोलेर स्थानीयलाई सहजता प्रदान गर्ने प्रयास गर्नुभएको छ।
हाल उहाँ भुस्मे गाउँबाट पिस हिलसम्म पुग्ने मार्ग निर्माणमा अहोरात्र खटिनुभएको छ। तर, यस क्रममा स्थानीय स्तरबाट बाटोका लागि सहज रूपमा जग्गा उपलब्ध नहुँदा उहाँले निकै कठिन, भिरालो र जोखिमपूर्ण भूगोल छिचोल्दै वैकल्पिक बाटोको ट्र्याक खोल्ने काम अघि बढाइरहनुभएको छ। बाटो खन्ने क्रममा कडा चट्टानका कारण काम अत्यन्तै चुनौतीपूर्ण बनेको छ। ठूला मेसिन (ब्रेकर) लगाएर दिनभरि ८-१० घण्टासम्म निरन्तर काम गर्दा समेत बाटो मुस्किलले ५-६ मिटर मात्र अघि बढ्ने अवस्थाले भूगोलको कठोरता र कामको जटिलतालाई स्पष्ट पारेको छ।
विदेशको भूमिमा दिनरात नभनी १६-१७ घण्टासम्म मेहनत गरेर कमाएको सम्पत्ति आफ्नै जन्मभूमिमा लगानी गर्न खोज्दा अपेक्षित साथ, हौसला र सहकार्य नपाउँदा भने उहाँले कहिलेकाहीँ गहिरो पीडा र निराशा महसुस गर्नुभएको छ। गाउँमा विकास भित्र्याउन खोज्दा स्थानीय स्तरबाट बाटोका लागि अपेक्षित सहजीकरण नहुनु तथा स्थानीय, प्रदेश र संघीय सरकारका तर्फबाट आधारभूत पूर्वाधार विकास र अनुदानका शीर्षकमा कनिका छरेझैँ बाहेक ठोस सहयोग र प्रोत्साहन नपाउँदा उहाँले स्वाभाविक रूपमा दुःख व्यक्त गर्नुभएको हो। कडा चट्टान, प्रतिकूल भूगोल र सरोकारवाला निकायको उदासीनताका बीच काम गर्नुपर्दा उहाँले आफ्नो भावना पोख्नुभएको छ।
यद्यपि, जतिसुकै अवरोध, भौगोलिक कठिनाइ र व्यवहारिक चुनौतीहरू अगाडि उभिए पनि जितबहादुर तामाङ आफ्नो लक्ष्यबाट रत्तिभर विचलित हुनुभएको छैन। नदीनाला, अनगिन्ती सुन्दर बस्तीहरू र गगनचुम्बी मनमोहक हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने कल्मे गाउँ (हाल पिस हिल) लाई एक उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने संकल्पसहित उहाँ कम्मर कसेर लागिरहनुभएको छ। भुस्मे गाउँ, पिस हिल र समग्र लमजुङको पहिचानलाई उचाइमा पुर्याउन आफूले आर्जन गरेको सम्पूर्ण सम्पत्ति र सामर्थ्य खर्चिन समेत पछि नहट्ने अठोटका साथ उहाँ निरन्तर कर्मक्षेत्रमा जुटिरहनुभएको छ।