वैदेशिक रोजगार ठगी प्रकरणमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ
वैदेशिक रोजगारीका नाममा ठगी गरी गैरकानुनी रूपमा रकम संकलन गरेर मलेसिया पठाएको आरोपमा नेपाल प्रहरीले पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित ६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने अन्यमा मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, सहसचिव उमेश ढुंगाना, राजीव पोखरेल र तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ रहेका छन् ।
प्रहरीका अनुसार नेपाल र मलेसियाबीच भएको समझदारीविपरीत गैरकानुनी रूपमा रकम संकलन गरी अमेरिकी डलर र बेलायती पाउन्ड मलेसिया पठाउने निर्णयमा उनीहरूको संलग्नता रहेको आरोप छ ।
यस क्रममा पद तथा जिम्मेवारीको दुरुपयोग गरी संगठित रूपमा आर्थिक लाभ लिएको आरोपमा उनीहरूमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।
काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी अनुमति लिएपछि उनीहरूलाई काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।