एन्फामाथिको सबै प्रशासनिक तथा आर्थिक प्रतिबन्ध फुकुवा
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फामाथि लगाएको प्रशासनिक तथा आर्थिक प्रतिबन्ध हटाएको छ ।
राखेपको कार्यकारी समितिले बिहीबार गरेको निर्णयअनुसार एन्फामाथि यसअघि विभिन्न समयमा लगाइएका सबै प्रकारका निलम्बन तथा प्रतिबन्ध फुकुवा गरिएको हो ।
राखेपका सदस्यसचिव रामचरित्र मेहताको हस्ताक्षरसहित एन्फालाई पठाइएको पत्रमा राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को उपदफा ३ अनुसार प्रतिबन्ध हटाइएको उल्लेख छ ।
एन्फाले गत चैत २३ गते निलम्बन फुकुवाका लागि राखेपसमक्ष अनुरोध गरेको थियो । प्रतिबन्ध फुकुवाको निर्णयबारे राखेपले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, खेलकुद मन्त्रालय, अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) लाई समेत जानकारी गराएको छ ।