झापामा तीन महिनामा आगलागीका ४५ घटना, साढे १७ करोडभन्दा बढी क्षति
झापामा पछिल्लो तीन महिनामा आगलागीका ४५ घटना भएका छन् । भदौ, असोज र कात्तिकमा भएका ती घटनाबाट १७ करोड ५१ लाख १३ हजार ९७५ रुपैयाँ बराबरको आर्थिक क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीका अनुसार कात्तिक महिनामा मात्रै आगलागीका २६ घटना भएका छन् । ती घटनाबाट छ करोड ७२ लाख २१ हजार रुपैयाँ बराबरको अनुमानित क्षति भएको छ । आगलागीमा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
त्यस्तै, असोजमा आगलागीका १२ घटना हुँदा १० करोड ६६ लाख ८२ हजार ९७५ रुपैयाँ बराबरको क्षति भएको थियो । भदौमा सात वटा आगलागीका घटना हुँदा १२ लाख १० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
प्रनाउ बुढाथोकीका अनुसार पछिल्लो तीन महिनामा जिल्लामा भएका विपद्का अन्य घटनाको तुलनामा आगलागीबाट सबैभन्दा बढी आर्थिक क्षति भएको छ ।