दाङमा यात्रुवाहक बस दुर्घटना, २२ जना घाइते
पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका–९ शिवखोलानजिक बिहीबार यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बुटवलबाट लुम्बिनी भ्रमण गरी बाँकेको कोहलपुर फर्कँदै गरेको भे १ ख ३१३० नम्बरको बस बिहान करिब ८ः३० बजे दुर्घटनामा परेको हो।
बसमा चालक र सहचालकसहित ५३ जना सवार थिए। दुर्घटनामा घाइते भएका सबैलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका लागि भर्ना गरिएको छ।
बसमा सवार अन्य ३१ जना यात्रु भने सकुशल रहेका छन्। उनीहरूलाई अर्को सवारीसाधनको व्यवस्था गरी गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनाग्रस्त बस, चालक र सहचालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।