काठमाडौं महानगरले मंसिर ७ देखि जलवायु कार्य सप्ताह मनाउने
काठमाडौं महानगरपालिकाले मंसिर ७ गतेदेखि सात दिनसम्म जलवायु कार्य सप्ताह सञ्चालन गर्ने भएको छ। जलवायु परिवर्तनका स्थानीय असर न्यूनीकरण तथा अनुकूलनका लागि सामूहिक प्रयास अघि बढाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको महानगरले जनाएको छ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख सुनिता डंगोलले सात दिनसम्म फरक–फरक विषयमा छलफल तथा कार्यक्रम सञ्चालन गरिने जानकारी दिइन्।
कार्यक्रममा जलवायु नीति, जलवायु वित्त, नागरिक विज्ञान, ऊर्जा प्रणाली, फोहोरमैला व्यवस्थापन, युवा तथा बालबालिकाको सहभागिता र खाद्य प्रणालीलगायत विषय समेटिनेछन्। अन्तिम दिन ‘काठमाडौं घोषणा २०८३’ जारी गरिने महानगरले जनाएको छ।
यस्तै, जाडोयाममा बढ्ने वायु प्रदूषण नियन्त्रणका लागि कार्ययोजना सार्वजनिक गरिनेछ। विद्यालयहरूमा फोहोर वर्गीकरण, वृक्षारोपण, इको क्लब गतिविधि तथा विद्यार्थीका लागि जलवायुसम्बन्धी भिडियो प्रतियोगितासमेत आयोजना गरिने महानगरले जनाएको छ।